जताततै भाउ बढ्यो, सार्वजनिक यातायातपछि हवाई भाडा
वायुसेवा सञ्चालक संघले आन्तरिक उडानको हवाई भाडा बढाएको छ । संघले भोलि बुधबारदेखि लागू हुने गरी भाडा बढाएको हो ।
इन्धनको मूल्य बढेसँगै संघले हवाई भाडा बढाइएको जनाएको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल, खाना पकाउने ग्यासलगायत सम्पूर्ण इन्धनको मूल्य बढाएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रूपैयाँले वृद्धि गरिएको छ ।
वृद्धि भएको भाडादर अनुसार अब काठमाडौंदेखि सबैभन्दा लामो दूरीमा रहेको धनगढीसम्मको भाडामा चार सय ४५ रूपैयाँले वृद्धि भएको छ । अब धनगढीको भाडा १५ हजार छ सय ६५ रूपैयाँ कायम भएको छ । पर्वतीय उडानमा तीन सय ४० रूपैयाँ बढाइएको छ । अब काठमाडौंबाट हुने माउण्टेन फ्लाइटको भाडादर १३ हजार सात सय ६५ रूपैयाँ भएको छ ।
त्यस्तै, काठमाडौंदेखि भद्रपुरको भाडा तीन सय रूपैयाँले बढेर ११ हजार ९३५, काठमाडौंदेखि विराटनगरको भाडा दुई सय ४० रूपैयाँले बढेर नौ हजार ३२५, काठमाडौंदेखि जनकपुरको एक सय ३० रूपैयाँले बढेर पाँच हजार २५० रूपैयाँ, काठमाडौंदेखि भरतपुरको भाडा एक सय १० रूपैयाँले बढेर चार हजार ४३५ रूपैयाँ पुगेको छ ।
काठमाडौंदेखि पोखराको एक सय ६० रूपैयाँ बढेर छ हजार ३०५ रूपैयाँ कायम गरिएको छ । काठमाडौंदेखि भैरहवाको भाडा दुई सय पाँच रूपैयाँले बढेर सात हजार ८८० रूपैयाँ, काठमाडौंदेखि नेपालगञ्जको भाडा तीन सय २५ रूपैयाँ बढेर १२ हजार ८९५ रूपैयाँ, काठमाडौंदेखि तुम्लिङटारको भाडा एक ८५ रूपैयाँ बढेर सात हजार ४६० र काठमाडौंदेखि सिमराको भाडा ९० रूपैयाँ बढेर तीन हजार ७२५ रूपैयाँ पुगेको छ ।
टिप्पणीहरू