हार स्वीकार्दै रविन्द्रले अध्यक्ष पद हापे
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीले निराशाजनक परिणाम ल्याएको भन्दै उनले पद छोड्ने निर्णय गरेका हुन् ।
पार्टी हारको नैतिक जिम्मा लिँदै पद त्यागेका मिश्रले आफू पार्टीको साधारण सदस्य भने रहिरहने बताएका छन् ।
‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु’, उनले भनेका छन्, ‘म पार्टीको साधारण सदस्य रहिरहने छु ।’
पार्टीका तर्फबाट उठेका उम्मेदवारहरू “इमानदार र सक्षम” हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा आफूले लिनुपर्ने मिश्रको भनाइ छ । साथै उनले गत ५ वर्षमा पार्टी निर्माणमा योगदान गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।
‘पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्दछु । तपाईँहरूप्रतिको श्रद्धाभाव शब्दमा व्यक्त गर्न सक्दिन । तपाईँहरूलाई सम्झेर म भावुक भएको छु र तपाईँहरूको अपेक्षा पुरा गर्न नसक्दा अत्यन्तै दुखित छु’, मिश्रले जारी गरेको वक्तव्यमा भनिएको छ ।
अध्यक्षबाट राजीनामा दिँदै मिश्रले विवेकशील साझाले उठाएका मुद्धाहरु देशको आझा मुद्धा बन्दै गएकोमा खुशी व्यक्त गरेका छन्। ति मुद्धाहरु सम्बोधन नहुँदासम्म मुलुकको रुपान्तरण सम्भव नहुने उनको दाबी छ ।
मिश्रले आफैंले कारवाही गरेका मिलन पाण्डे समूहका नेताहरुको कारवाही फुकुवा गर्न केन्द्रिय कार्यसमितिलाई अनुरोध गर्नुका साथै आफ्नो दस्तावेजप्रति असहमत भएर पार्टी छोड्नेहरुलाई निर्णय सच्याएर पार्टी काममा फर्किन पनि आग्रेह गरेका छन्।
‘मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई-तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजकलगायत कतिपयलाई कारबाही गरिएको थियो । सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु । त्यस्तै, सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु’, उनले भनेका छन् ।
टिप्पणीहरू