प्रचण्ड निवासमा भारतीय पूर्व राजदूत प्रकट

प्रचण्ड निवासमा भारतीय पूर्व राजदूत प्रकट

नेपालका लागि भारतका भूतपूर्व राजदूत रञ्जित रेले केही बेरअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच झण्डै दुई घण्टा कुराकानी भएको छ ।

रेसँगै खुमलटार पुगेका नेपाली काँग्रेसका सांसद तथा मनमोहन सिंह प्रधानमन्त्री हुँदा भारतीय संस्थापन पक्षका विश्वासपात्र अमरेशकुमार सिंह पनि छेउमै बसेका थिए ।

नेपाली राजनीतिमा आउने र आउनसक्ने उथलपुथलको वरिपरि प्रायः देखा पर्ने गरेका रेको पछिल्लो भ्रमण र भेटघाटले कूटनीतिक बृत्तमा कौतुहल जन्माएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस सर्वाधिक स्थान विजयी भएको र एमाले निकै तल खुम्चिएको सन्दर्भमा भएको भारतीय पूर्वराजदूतको भ्रमणले ल्याउने नयाँ तरंगको निम्ति कम्तिमा केही दिन कुर्नुपर्ने बताइन्छ ।

यसअघि उहाँले लेख्नुभएको काठमाडौं डिलेमा पुस्तकमा नेपाली राजनीतिज्ञ,नेता र मन्त्रीको धज्जी उडाउँदै विभिन्न सन्दर्भ उल्लेख गर्नुभएको थियो । सबैभन्दा धेरै तत्कालीन गृहमन्त्री विमलेन्द्र निधीको निर्णय क्षमताको बारेमा लेख्नुभएको थियो ।

रे नेपालमा गणतान्त्रिक संविधानको निर्माण हुनुअघिदेखि राजदूतको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँ झण्डै साढे तीन वर्षको कार्यकाल सकाएर २०७३ फागुन १७ गते स्वदेश फर्कनुभएको हो ।

रे हिजो दिउँसो नयाँ दिल्लीबाट भिष्टारा एअरलाइन्स युके १५५ नम्बरको उडानबाट दिउँसो साढे ४ बजे काठमाडौं ओर्लनुभएको हो ।

सोही उडानबाट भारतका पूर्वनागरिक उड्डयन, रेल वे,उद्योग तथा वाणिज्यमन्त्री सुरेश प्रभाकर पनि काठमाडौं आउनुभएको बताइन्छ । प्रभाकर आज दिउँसो ३ बजेदेखि होटल याक एण्ड यतिमा हुन लागेको नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीको २६ र २७ औं वार्षिक साधारण सभामा सहभागी हुन आउनुभएको हो ।

उक्त कार्यक्रमलाई चौधरी ग्रुपको सिजी होल्डिङ्स र सिप्रदी ट्रेडिङले सपोर्ट गरेको छ ।

टिप्पणीहरू