तत्कालीन उपप्रमुखको सम्पत्ति : दुई ठाउँमा जग्गा र १५ तोला सुन
दैलेखको आठबीस नगरपालिकाकी तत्कालीन उपप्रमुख दीपा बोहराले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । पाँच वर्षको कार्यकाल सकाएर निस्किएपछि उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी हुन् ।
उनले दैलेख र बाँकेमा दुई ठाँउमा जग्गा देखाएकी छन् । बाँकेमा आठ लाख र दैलेखमा छ लाख रुपैयाँ पर्ने घडेरी रहेको उपप्रमुख बोहराले बताएकी छन् ।यसको स्रोत भने नोकरी देखाइएको छ । त्यसैगरी, अन्य सम्पत्तिमा १५ तोला सुन र २५ तोला चाँदी रहेको उल्लेख छ ।
केही माइतीबाट, केही पैत्रिक सम्पत्ति र खरिद गरेको विवरणमा भनिएको छ । यता, बोहराले दुई वटा बैंकमा तीन लाख आठ हजार ६३५ रुपैयाँ मौज्दात रहेको बताएकी हुन् ।
बोहराकै नामको नेपाल इन्भेष्टेमेण्ट बैंकमा जनप्रतिनिधिबाट प्राप्त गरेको जम्मा ५७ हजार ९७१ रकम मौज्दात र कृषि विकास बैंकमा दुई लाख ५० हजार ६६४ रुपैयाँ मौज्दात रहेको छ । यो रकम सेवा सुविधाबाट जम्मा गरिएको उल्लेख छ ।

टिप्पणीहरू