ओलीको निम्ति छुट्टै कुर्सी केही समयमै तयार
एमाले अध्यक्ष तथा संसदमा विपक्षी दलका नेता केपी शर्मा ओलीले अस्ति बिहीवार बिहान झण्डै एक वर्षपछि संसदको रोष्ट्रममा उभिएर बोल्नुभयो । उहाँले दुई दुई पटक प्रतिनिधिसभा विघटनको सिफारिस गरे पनि आफ्ना कुरा राख्न फेरि त्यहि संसदको रोष्ट्रम रोज्नुभएको हो ।
बिहीवार पनि रोष्ट्रममा उभिनेबित्तिक्कै ओलीले सभामुखतर्फबाट फर्की आफूलाई बसेर सम्बोधन गर्ने अनुमतिको लागि अनुरोध गर्नुभएको थियो । सभामुखविरुद्ध झण्डै एक वर्षदेखि आन्दोलन र संसद अवरुद्ध गर्दै आएको एमालेले यस पटक स्थानीय तहमा कमजोर परिणाम आएपछि विनाशर्त अवरोध हटाएको छ । अहिले उनै सभामुखसँग अनुमति मागेर ओलीले कुर्सीमा बसी सम्बोधन गर्नुभएको हो ।
ओलीले माग्नेबित्तिक्कै र सभामुखले भन्ने बित्तिक्कै कुर्सी फुत्त कसरी आयो होला ? भनेर जनआस्थाले संसद सचिवालयमा सम्पर्क राखेको थियो । एक जना उच्चपदस्थ अधिकारीका अनुसार त्यसअगावै अध्यक्षलाई छुट्टै कुर्सी चाहिन्छ भनी एमालेले संसद सचिवालयलाई जानकारी गराएको थियो ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष ओलीले आज बोल्दै हुनुहुन्छ भन्ने जानकारी गराउँदै बसेर सम्बोधन गर्नको निम्ति छुट्टै कुर्सीको व्यवस्था गरिदिनुहोला भनेर पूर्व जानकारी गराउनुभएको थियो । त्यसपछि संसद बैठक शुरु भयो र लगत्तै ओलीलाई रोष्ट्रममा बोल्न सभामुखले समय उपलब्ध गराउनुभयो ।
सोही क्रममा उहाँले सभामुखसँग बसेर बोल्ने अनुमति माग्नुभएको हो । सभामुख अग्निप्रसाद सापकोटाले ‘हुन्छ’ भनेपछि सचिवालयका कर्मचारी र मर्यादापालकहरुले तत्काल कुर्सी ल्याएर राखिदिएका थिए ।
त्यही कुर्सीमा बसेर उहाँले तीन घण्टा भाषण गर्नुभयो । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको सम्बोधनमा अध्यक्ष ओलीले आफू र आफ्नो दलबाहेक अरु सबैलाई गलत भन्नुभएको थियो ।
टिप्पणीहरू