अन्तिम अवस्थामा पनि श्रीमतीले वास्ता नगर्दा
जीवनका हरेक सुख दु:खमा एकअर्काको सहयोगी हुने भएकाले श्रीमान-श्रीमतीको सम्बन्धलाई एकै रथका दुई पाङ्ग्राको रुपमा परिभाषित गरिएको छ । अपवादबाहेक जीवनको अन्तिम क्षणसम्मै साथमा रहने पनि श्रीमान् र श्रीमतीमात्रै हो । त्यसैले त भनिएको होला प्राय: जोडीको सफलता र असफलतामा एकअर्काको अहम भूमिका हुने गर्छ ।
तर,जोइपोइको सम्बन्ध सबैका लागि जीवन जिउने सारथी बनेको हुँदैन । लमजुङका एक युवकले जीवनको अन्तिम घडीमा श्रीमतीबाट त्यस्तै पीडा भोगेर संसारबाट बिदा लिएका छन् । श्रीमती र छोरीको ‘मुख हेर्छु’ भनेर साथी शंकर भण्डारीलाई खबर पठाउँदा पनि मायाप्रेम बसेर सिउँदो रंग्याइएकी श्रीमतीले बेवास्ता गरेको केही घण्टा नबित्दै लोग्ने यामबहादुर बस्नेतको मृत्यु भएको हो ।
लामो समय दुबई बसेर चारपाँच महिनाअघि घर फर्केका बेसीशहर -८ का ३३ वर्षीय बस्नेतको श्रीमतीसंग राम्रो थिएन । ससुरालीले पनि बस्नेतलाई घरज्वाइँ बस्न दबाब दिइरहेका थिए । तर, उमेर ढल्केका बाबु आमा छोडेर श्रीमतीसँगै ससुरालीमा बस्न बस्नेतको मनले मानेन ।
प्यारालाइसिसले थला परेकी आमालाई छोडेर घरज्वाईं बस्न उनलाई नैतिक रुपमा पनि अप्ठेरो थियो । तर, उनको यो बाध्यता र दायित्व श्रीमतीले बुझिनन् । श्रीमतीको त्यहि कचकचका कारण मासुअण्डाको पसल बन्द गरेर फेरि विदेश जाने तरखरमा थिए उनी ।
फुर्सदको समयमा बस्नेत ट्रस्टको काम पनि गर्थे । यही सिलसिलामा जेठ ११ गते साँझ मर्स्याङ्दी कलेजकी शिक्षिका टिका भण्डारीको घरको छतबाट खसेर घाइते भएका उनलाई नजिकैको जिल्ला अस्पताल बेसीशहर लगियो । अस्पताल पुर्याउँदा होसमै रहेका उनलाई डाक्टर शरण लिम्बूले जतिसक्दो छिटो भरतपुर अस्पताल लैजान सल्लाह दिए ।
बस्नेतले साथी शंकरलाई ‘म त रहन्न कि क्या हो एकपटक श्रीमती र पाँच वर्षकी छोरीको अनुहार हेर्ने इच्छा छ’ भनेका थिए । तर,श्रीमतीले वास्ता गरिनन् । त्यसपछि असहज महसुस गरेका बस्नेतलाई तत्काल एम्बुलेन्समा राखेर भरतपुरतर्फ लैजाने क्रममा डुम्रे नजिकै प्राण गएको हो । आधिबाटैमा प्राण गएपनि भरतपुर अस्पतालबाट पोस्टमार्टम गरी १२ गते साँझ ६ बजेतिर मर्स्याङ्दी नदीमा उनको अन्तिम दाहसंस्कार गरिएको छ ।
-अञ्जनकुमार
टिप्पणीहरू