कर्मचारीलाई तलब, श्रमिकलाई आयोग
सरकारले कर्मचारीहरुको तलब १५ प्रतिशतले बढाउने घोषणा गरेको छ । आगामी साउन १ गतेदेखि लागू हुनेगरी अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गर्नुभएको हो ।
निजामती, सेना, प्रहरी, शिक्षकलगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन साउन १ गतेदेखि लागू हुनेगरी तलबमानमा १५ प्रतिशतले वृद्धि गरिएको मन्त्री शर्माले बताउनुभयो ।
हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिएको उहाँको भनाइ छ । राष्ट्रसेवक कर्मचारीहरूको तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलब सुविधाको अध्ययन गरी सरकारलाई सिफारिस गर्न एउटा उच्चस्तरिय तलब सुविधा आयोग गठन गरिने मन्त्री शर्माले बताउनुभयो ।
सबैभन्दा मर्कामा परेका निजी क्षेत्रका श्रमिकहरुको हकमा सरकारले आयोगको सिफारिस कुर्ने भएको छ । तर, सरकारी कर्मचारीको तलब बढेपछि हुने बजार भाउवृद्धिले सबैभन्दा धेरै मार सर्वसाधारण र ती न्यून वेतन श्रमिकलाई पर्ने निश्चित छ ।
सरकारले आज घोषणा गरेको १५ प्रतिशतको आधारमा निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायतको तलब कम्तीमा तीन हजार पाँच सयदेखि बढीमा १० हजार दुई सय ६० रुपैयाँसम्म बढ्ने निश्चित छ ।
टिप्पणीहरू