छात्रा बलात्कार आरोपी प्रिन्सिपल छ वर्षपछि खोरमा
छ वर्षअघि बालिका बलात्कार गरेको आरोपमा एक जना प्रिन्सिपल जेल चलाउन भएका छन् । आफनै बिद्यालयकी १६ वर्षीया छात्रालाई छ वर्षअघि गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा ३१ वर्षीय प्रिन्सिपल राजकुमार खड्का जेल पुगेका हुन् ।
सुनसरी जिल्ला अदालतको आदेशपछि उनलाई हिजोदेखि जेलमा लगिएको छ । धरान– १० मा रहेको जनहित गेष्ट हाउसमा लगेर उनले इटहरी ५ मा रहेको ब्लुमिङ इङ्लिश स्कुलका प्रिन्सिपल खड्काले २०७४ साउन २६ गते बालिकालाई बलात्कार गरेको थिए । आफूलाई बलात्कार गरेको भन्दै पीडितले तत्काल इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिए पनि आरोपी प्रिन्सिपल खड्का फरार थिए ।
पछिल्लो समय काठमाडौकी एक युवतीले आफूलाई सौन्दर्य प्रतियोगिताका नाममा किशोरी हुँदा पटक पटक बलात्कार गरेको घटना सार्वजनिक गरेपछि सुनसरीकी ती पीडित युवतीले पनि पुनः न्यायको खोजी थालेकी हुन् । उनी त्यसपछि प्रहरी कार्यालय र अदालत पुगेकी थिइन् ।
उनको पछिल्लो उजुरीपछि प्रहरीले फरार प्रिन्सिपलको खोजी थालेको थियो । खोजी क्रममा सिन्धुलीको कमलामाई नगरपालिका घर भएका खड्का काठमाडौंमा पनि बोर्डिङ स्कुल सञ्चालन गरेर बसेको अवस्थामा फेला परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनलाई जेठ १२ गते काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेर सुनसरी प्रहरीलाई बुझाएको थियो ।
सुनसरी प्रहरीले आरोपी खड्कालाई अदालतमा पेश गरेपछि जिल्ला अदालत सुनसरीले हिजो पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।
टिप्पणीहरू