मुक्तिनाथ जाने सडकको पश्चिमको अफिम नष्ट
-अमृत बास्कुने
हिमाली जिल्ला म्याग्दीमा १५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । प्रहरीले पछिल्लो तीन हप्ताको अवधिमा जिल्लाको पश्चिम भेकको विभिन्न स्थानमा लगाइको अफिम खेती नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजन ढकालका अनुसार पछिल्लो २० दिनको अवधिमा तीन स्थानमा १५ रोपनी क्षेत्रफलको अफिम खेती नष्ट गरिएको हो । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले गत वैशाख २२ गते मालिका गाउँपालिका–५, गाइखर्कको सार्वजनिक जग्गामा लगाइएको पाँच रोपनी क्षेत्रफलको अफिम नष्ट गरेको थियो ।
त्यसैगरी वैशाख २७ गते मालिका गाउँपालिका–४, छिसनेरीमा पाँच रोपनी क्षेत्रफलमा लगाइएको अफिमलाई इलाका प्रहरी कार्यालय, दरवाङका प्रहरी निरीक्षक सागर पन्तको नेतृत्वमा गएको टोलीले नष्ट गरेको हो ।

त्यसपछि गत बिहीबार बिहान ९ बजे इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी सहायक निरीक्षक बलबहादुर खड्काको नेतृत्वमा चार जना, प्रहरी चौकी बाबियाचौरबाट दुई जना र प्रहरी चौकी तातोपानीबाट खटिएका दुई जनाको संयुक्त टोलीले अफिम खेती नष्ट गरेको हो ।
प्रहरी निरीक्षक ढकालका अनुसार मंगला गाउँपालिका–५, अर्मनको चांगामा करिब पाँच रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेतीलाई प्रहरीको अगुवाईमा नष्ट गरिएको छ । प्रहरीले लागुऔषध विरुद्धको अभियान अन्तर्गत पछिल्लो तीन हप्तामा पश्चिम म्याग्दीका तीन स्थानमा गरी कुल १५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरेको हो । पछिल्ला दिनमा लागुऔषधविरुद्धको कार्यक्रमअन्तर्गत लागुऔषध नष्ट गर्ने प्रहरीको अभियान निरन्तर रहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू