स्वर्गबाट बिउँतिएर, विदेशबाट उडेर…..
पद र पहुँचमा रहेकाले आफन्तलाई जसरी पनि जिताउन निर्देशन दिएपछि स्वर्गबाट बिउँतिएर र विदेशबाट उडेर आएका मतदाताले मतदानमा भाग लिएको पाइएको छ । सुन्दै हाँसो लाग्ने भए पनि सत्य यही नै हो । बाजुरा जिल्ला, बूढीगंगा नगरपालिका–४ थुमा माध्यमिक विद्यालयको बुथमा १७ सय ९ मध्ये १६ सय ९९ मत खसेपछि यस्तो देखिएको थियो । यो ९९ प्रतिशतभन्दा बढी मत हुन आउँछ ।
कांग्रेसबाट मेयरको प्रत्यासी रहेका रंगबहादुर खातीलाई जिताउनुपर्ने भएपछि बुथ कब्जा गरेर मरेका र विदेशमा रहेका मतदाताको नाममा समेत भोट खसालिएको थियो । प्रत्यक्षदर्शीका अनुसार एमाले समर्थक केही मतदाताले भोट खसालेपछि ढिलो पुगेका कांग्रेस समर्थकले बलमिच्याइँ गर्दै मतदान अधिकृतलाई प्रभावमा पारेर १६ सय ९९ भोट खसालेका हुन् । सो वडा कांग्रेसको पकड भएको वडा मानिन्थ्यो ।
त्यसैगरी, कांग्रेसले आफ्नो पकड भएको ७ नम्बर वडामा पनि बुथ कब्जा गरेको आरोप एमालेले लगाएको छ । एमालेका रामबहादुर बानियाँले कांग्रेसका खातीसँग प्रतिस्पर्धा गरिरहेका छन् । खाती महान्यायाधिवक्ता खम्बबहादुरका दाजु हुन् । त्यसैले यो धाँधलीको पृष्ठभूमिमा प्रधानमन्त्रीका कानुनी सल्लाहकार स्वयं जोडिएको आरोप लगाइएको छ ।
कांग्रेसले पनि एमालेले आफ्नो पकड २, ३, ५ र ९ वडामा बुथहरू कब्जा गरेको आरोप लगाएको छ । स्रोतका अनुसार महान्यायाधिवक्ताले समेत मुख्य निर्वाचन अधिकृतलगायत सिडिओ र बुथमा खटिएका अन्य कर्मचारीलाई समेटेर विभिन्न बहानामा फोन गरी यसो गरिदिनुपर्यो, उसो गरिदिनुपर्यो भन्दै अह्रनखटन गरेको बताइन्छ । वडा नम्बर ४ र ७ मा बुथ कब्जा गरेपछि भएको समीक्षामा एमालेले पनि बुथ कब्जा गरेकोले जित्न सकिँदैन भन्ने निश्कर्ष निस्किएको थियो ।
एमालेले कब्जा गरेको भनिएको बुथमा पनि ७० देखि ८० प्रतिशतसम्म भोट खसेको छ । त्यसपछि दिउँसो २ बजेतिर पुनः मतदान गराउनुपर्ने निश्कर्षमा पुगेको कांगे्रसले सिडिओ उपेन्द्रराज पौड्यालमार्फत गोटी चाल्यो । सिडिओले महान्यायाधिवक्ता खातीकै दबाबमा ‘गम्भीर सुरक्षा चुनौती एवं खतरा उत्पन्न भई मतदाताले निर्धक्क र स्वतन्त्र मतदान गर्ने वातावरण हुन नसकेकाले बूढीगंगा नगरपालिकाको सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः निर्वाचन घोषणा गरिपाउन निर्वाचन आयोगमा अनुरोध गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयसमक्ष लेखिपठाउने’ निर्णय सुरक्षा समितिबाट वैशाख ३० गते बेलुका गरेको थियो ।
यही व्यहोराको पत्र आएपछि आन्तरिक जाँचबुझ गरेको आयोगले सिडिओले मतपेटिका रुँगेर बसेका प्रहरीहरूलाई एकाएक छोडेर हिँड्न निर्देशन दिएको पाएको बताइन्छ । तापनि प्रहरीहरू बाकसभन्दा अलिक छेउ लागेर बसेको र मतदाताले मत खसालिरहेको थियो । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बुथ कब्जा भए पनि मतदान गर्ने काम शान्तिपूर्ण रुपमा सबै वडामा सम्पन्न भएको प्रारम्भिक निश्कर्षमा आयोग पुगेको छ ।
त्यहाँका सबै मतदान अधिकृतले मतदान शान्तिपूर्ण तवरले सम्पन्न भएको मुचुल्का उठाएका छन् । साँझपख भने सुरक्षाकर्मी मतदानस्थलबाट फर्किएर रमिता देखाएको बताइन्छ । एकाएक साँझ सिडिओले पुनः निर्वाचन गराउन माग गरेपछि महान्यायाधिवक्ता खातीको भाँतीले काम गर्न शुरु गरेको दाबी स्रोतले गरेको छ । तर, अहिले आयोगले सिडिओलाई सुरक्षा व्यवस्थामा कमी हुँदा सुरक्षाकर्मी थपेर बलियो बनाउनुपर्नेमा किन नबनाएको ? प्रश्न तेस्र्याउँदै उनीलगायत सुरक्षाका सबै कमाण्डरलाई काठमाडौं फर्काएको छ ।
सिडिओ पौड्यालको सो निर्णयलाई साथ दिनेमा सेनानी वीरेन्द्रकुमार महर्जन, डिएसपी चतुर्भुज ओझा, डिएसपी (सशस्त्र) दीपक बिष्ट, गुप्तचर अधिकृत अशोकराज भट्ट र निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थी थिए । यी हाकिमको दवाव आएपछि निर्वाचन अधिकृत उपसचिव कृष्ण सापकोटाले भने राजीनामा दिएका छन् ।
स्मरणीय छ, ०५४ सालमा यही ठाउँबाट खम्बबहादुर खाती गाउँ विकास समितिको अध्यक्षमा उम्मेदवार हुँदा दुई जनाको ज्यान जाने गरी ठूलो झडप भएको थियो । सो झडप र धाँधलीको मुद्दामा खाती सर्वोच्च अदालतबाट अढाई वर्ष अध्यक्ष हुने गरी पुनर्वहाली भएका थिए ।
टिप्पणीहरू