राष्ट्र बैंकमा शक्ति प्रदर्शनको तयारी,शंकर पोखरेलले चर्को भाषण गर्ने आकलन

राष्ट्र बैंकमा शक्ति प्रदर्शनको तयारी,शंकर पोखरेलले चर्को भाषण गर्ने आकलन

राष्ट्र बैंकका एमाले निकट कर्मचारीहरुले आज शक्ति प्रदर्शन गर्ने भएका छन् । उनीहरुले केन्द्रीय बैंक हातामा एमाले महासचिव शंकर पोखरेललाई बोलाएर कार्यक्रम गर्न लागेका हुन् ।

नेपाल राष्ट्र बैंकका कर्मचारी र संस्थाभित्र व्यावसायिकता सकिएको चर्चा भइरहँदा आज शक्ति प्रदर्शनको तयारी गरिएको हो । केन्द्रीय बैंकसँग गोरु बेचेको साइनो पनि नगाँसिएका पोखरेललाई बोलाएर अरुलाई मनोवैज्ञानिक दबाब दिन खोजिएको माओवादी र नेपाली काँग्रेस निकट कर्मचारी युनियनका पदाधिकारीहरुले अर्थ्याएका छन् ।

एमाले युनियन कर्मचारी संघको आठौं केन्द्रीय परिषद बैठकमा पोखरेललाई प्रमुख अतिथि बनाइएको छ । परिषद बैठक संघको दुई महाधिवेशन बीचमा आयोजना गरिने छलफल कार्यक्रम हो । आज बिहान साढे ११ बजे कार्यक्रम राखिएको छ ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटार हातामा पाल टाँगेर गर्न लागिएको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरु, सञ्चालक र बैंकका सबै कर्मचारी सहभागी हुँदैछन् । कार्यालय समयलाई ख्याल नगरी राखिएको कार्यक्रमले आज केन्द्रीय बैंकको काम प्रभावित हुने अधिकारीहरुले बताएका छन् ।

गभर्नर अधिकारीलाई अघिल्लो महिना अर्थमन्त्रीको चाहना र प्रधानमन्त्रीको इशारामा हटाउन खोजिएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर पदबहाली गरिदिएको थियो । उनै गभर्नरलाई चलाउन खोजेको विषयलाई इंगित गर्दै एमाले कर्मचारीहरुले अरु दललाई चेतावनी दिन आजको कार्यक्रममा पोखरेललाई बोलाएको बताइन्छ ।

यसअघि माओवादी युनियन र काँग्रेसनिकट संघले पनि आफू अनुकूल भएको बेला पोखरेल जस्तै कुनै पनि कोणबाट केन्द्रीय बैंक, अर्थतन्त्र र मौद्रिक नीतिसँग साइनो नजोडिएका राजनीतिक पात्रहरुलाई बोलाएका धेरै उदाहरण छन् । गत हिउँदमा काँग्रेसी युनियनले महामन्त्री गगन थापालाई बोलाएर बैंक नेतृत्वलाई घुमाउरो तरिकाले चेतावनी दिएको थियो ।

तर सबैभन्दा रमाइलो पक्ष चाहिँ ती सबै युनियनले आफ्ना गुट र समूहका नेतालाई बोलाएर गर्ने त्यस्ता कार्यक्रममा केन्द्रीय बैंकको व्यवहारिक स्वायत्तताको कुरा उठाउन छाडेका छैनन् । डा.युवराज खतिवडा गभर्नर हुँदा काँग्रेसी युनियन नेपाल वित्तीय संस्था कर्मचारी संघले पूर्वमन्त्री डा. रामशरण महतलाई बोलाएर यस्तै कार्यक्रम गर्न खोजेपछि खतिवडा रातारात काज मिलाएर सिरहा र धनुषातिर महिला सहकारी र लघुवित्तको कार्यक्रममा गएका थिए ।

टिप्पणीहरू