प्रचण्डलाई कांग्रेसको जवाफ : एमालेजस्तो हामी अहंकारी छैनौँ

प्रचण्डलाई कांग्रेसको जवाफ : एमालेजस्तो हामी अहंकारी छैनौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टी अहंकारको बाटोमा नरहेको बताउनु भएको छ । चुनावी परिणामले काँग्रेसमा अहंकार आउन सक्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आशंका मेट्दै महतले त्यसो भन्नुभएको हो ।

आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि बताउनुभयो ।

प्रचण्डले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि दम्भ र अहंकार देखाए एमालेलाई जस्तै ठेगान लगाइदिने बताउनुभएको थियो । प्रवक्ता महतले प्रचण्डको यो कुरालाई कांग्रेसलाई थर्काएको भनेर बुझ्न नमिल्ने भन्नुभएको हो ।

“उहाँले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यस्तो भन्नुभयो होला तर त्यसलाई धेरै महत्व दिनुपर्छ भन्ने म ठान्दिन, नेपाली कांग्रेस कहिल्यै पनि अहंकारको बाटोमा छैन,यो कुरामा उहाँले आशंका गर्नुपर्ने अवस्था छैन’,महतको भनाइ छ ।

पाँचदलीय गठबन्धनको सफल परीक्षण भएको भन्दै उहाँले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धनका दलबीच सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।’

टिप्पणीहरू