विश्वभाषा क्याम्पसबाट सेयर लगानीकर्ताहरुको आन्दोलन घोषणा
राजधानीको प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पसमा भेला भएका सेयर लगानीकर्ताहरुले आन्दोलनको कार्यक्रम तय गरेका छन् । पुँजी बजारको सुधार र विकासका लागि सरकार र सम्बन्धित निकायलाई दबाब दिन उनीहरु भेला भएका हुन् ।
सेयर कारोबारीहरु तिलक कोइराला, एसबी चौलागाईं,अर्जुन थापा, रामकेशर अधिकारीलगायत झण्डै एक सय जनाको उपस्थिति रहेको भेलाले १९ बुँदे माग पूरा गर्नुपर्ने आवाज उठाउने निर्णय गरेको हो ।
बजेटपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहँदा उनीहरुको भेला भएको हो । कोइरालाले पाँच हजार मानिसलाई सडकमा उतारेको अवस्थामा आफ्ना माग पूरा हुने बताएका छन् ।
उनले सेयर लगानीकर्तालाई मुलुकको समृद्धि र अर्थतन्त्रको खम्बा भन्दै राज्यले अस्थिर नीति अंगालेकाले आन्दोलन गर्नुपरेको दाबी गरेका छन् ।
अर्का लगानीकर्ता चौंलागाईंले नेप्सेमा नक्कली डमी राखिएकाले पुँजीबजारका खेलाडीले आन्दोलन गरेको अवस्थामा उक्त डमीको मुखुण्डो उत्रिने बताएका छन् । उनले आगामी सोमबारदेखि शुक्रबारको निम्ति आन्दोलनको कार्यक्रम तय गर्न सुझाव दिएका हुन् ।
भेलाले तिलक कोइरालाको संयोजकत्वमा एसपी चौंलागाईं, गोपाल स्यामी,नानीबाबु खरेल, लक्ष्मण बन्जारा,विनोद कार्की रहेको २३ जनाको संघर्ष समिति पनि चयन गरेको छ ।
जसअनुसार सोमबार नेपाल धितो पत्र बोर्डमा कालोपट्टीसहित ज्ञापन पत्र बुझाउने र भोलिपल्ट अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम राखिएको छ । त्यसैगरी बुधबार प्रधानमन्त्रीसँग भेट गर्ने र ज्ञापन पत्र बुझाउने भन्दै बिहीबार राजनीतिक पार्टीको कार्यालयमा ज्ञापन पत्र बुझाएपछि आगामी शुक्रबार माइतीघर मण्डलामा भेला भएर कालोपट्टीसहित नयाँ बानेश्वरसम्म जुलुस निकाल्ने भनिएको छ ।
त्यसपछि आगामी शनिबार समीक्षा गर्दै आगामी शनिबारका दिन अन्तरक्रिया गर्ने बताइएको छ ।
टिप्पणीहरू