झलनाथ,पीएस र पद्मा अर्याल एकै दिन यति लचिलो
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव पद्मा अर्यालले एकै दिन र एउटै समय वामपन्थी एकताको सन्दर्भ उठाउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी पराजयका निम्ति आफ्नो राजीनामा माग्ने घनश्याम भुसालमाथि कारबाही प्रक्रिया अघि बढाए पनि उपमहासचिव गुरुङ र सचिव अर्यालले भने स्थानीय निर्वाचनमा पार्टीले भोगेको पराजयलाई लक्षित गर्दै उक्त कुरा बताउनुभएको हो ।
यता नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समेत वामपन्थी एकताको आवश्यकता औंल्याउनुभएको छ । उहाँलेअस्ति संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अहिले पनि मुलुकमा वामपन्थी एकताको आवश्यकता रहेको तर वामपन्थी आन्दोलनका मूल नेताले नै यसको महत्व र आवश्यकता नबुझेकाले तत्काल एकताको सम्भावना नरहेको जानकारी दिनुभएको थियो । उहाँको भनाइ एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित रहेको बुझ्न सकिन्छ ।
सोही दिन एमालेकी सचिव पद्मा अर्यालले एक अन्तर्वार्तामा वाम तालमेल र अर्को प्रधानमन्त्री बनाउनेबारे औपचारिक निर्णय नभएको उल्लेख गर्दै वाम तालमेल धेरै शुभेच्छुकको चाहना भएकाले एमालेले ढोका बन्द नगर्ने संकेत गर्नुभएको थियो ।
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले पनि सोही दिनको एउटा अन्तर्वार्तामा आमकार्यकर्ता र शुभचिन्तकसमेत अहिलेको सत्ता गठबन्धन भत्काएर वाम गठबन्धन गर्नुपर्ने पक्षमा रहेको धारणा राख्नुभएको थियो । उहाँले भन्नुभयो, ‘अग्रगमनका लागि वाम गठबन्धन जरूरी छ ।’
तर एमाले अध्यक्ष ओली र उहाँका अति विश्वासपात्रको रुपमा चिनिएका नेताहरु अझै पनि पार्टी पराजय भएको,लोकप्रियता खस्केको र आगामी दिनमा उक्त अवस्थामा झन् ह्रास आउने सुझाव सुन्न तयार नदेखिनुभएको पार्टी स्रोतले बताएको छ ।
टिप्पणीहरू