मधेशी दलमा फेरि महाभारत

मधेशी दलमा फेरि महाभारत

‘भ्यागुताको धार्नी– के गर्ने  ? के नगर्ने ?’ यस्तो बिलखबन्दमा परेको छ, जनता समाजवादी पार्टी (जसपा) । स्थानीय निर्वाचनमा पाँच लाख ५२ हजार जनमत प्रकट भएको उक्त पार्टीमा थोरैमात्र तलमाथि हुँदा क्षणभरमै खतरा निम्तिने स्थिति छ ।

भएका मन्त्री फेरौँ, नयाँ आएका जति सबैलाई भाग नपुग्ने । हटाइएका त रिसाउने भए नै, नयाँले भाग नपाउँदा तिनी पनि भाँडिने ! अनि, सबैभन्दा डर छ, डा.बाबुराम भट्टराईबाट । उनी सके वैधानिक रूपले पार्टीमा कब्जा जमाउने, नसके ४० प्रतिशत सांसद लिएर विभाजनमा जाने, त्यसो पनि नभए सर्लक्कै पार्टी छाडिदिने मनस्थितिमा छन् भनिँदै छ ।

उपेन्द्र यादव र अशोक राईहरूको चिन्ता छ, बाबुरामलाई फकाइरहनुपर्ने ! किनभने, उनी बिच्किनेबित्तिकै सरकार धर्मराउला भन्ने खतरा छ  । नत्र, नेकपा एकीकृत समाजवादीले आफूतर्फका नयाँ मन्त्रीको नाम पठाएपछि जसपामा पनि मन्त्री फेर्ने र नयाँ पठाउनुपर्ने मन्त्रीको दबाब व्यापक आयो ।

धन्न, एकीकृत समाजवादीका नयाँ मन्त्रीको शपथ केही दिनका लागि सारियो र जसपालाई हाइसञ्चो भयो । नत्र, भ्यागुताको धार्नीजस्तो जताबाट जसो गरे पनि हिसाब बिग्रिने र लोसपाले देउवासँग मिलेर आफूहरूलाई अप्ठ्यारोमा पार्नेतिर उक्त पार्टी गइसकेको थियो । एकीकृत समाजवादीमा जस्तो जसपाबाट मन्त्री भएकाहरूको हकमा छ महिने कबोल गराइएको थिएन । यसकारण पनि भएका मन्त्रीहरूमा फेरिँदैनौँ भन्ने छ  ।

नदुखेको टाउको भित्तामा ठोकीठोकी दुखाउने धन्दाबाट जसपा तत्काललाई मुक्त भयो । बरु, महन्थ ठाकुरहरूको लोसपाका तर्फबाट अनौपचारिक रूपमा मिलेर जाने प्रस्ताव आएको छ  । यद्यपि,पार्टीभित्र यो विषयले औपचारिक रूपमा प्रवेश पाएको छैन । विशेषतः उपेन्द्र यादव समूहको पूर्वफोरमसँग तराईका विभिन्न जिल्लामा तालमेल गरेर जानेबारे लोसपाका केही नेताले साउती मार्न थालेका हुन् ।

अर्कातिर, कृषि मन्त्री महेन्द्रराय यादव गतहप्ता नयाँ दिल्लीमा थिए । हप्तादेखि १० दिनसम्म बस्ने गरी उडेका उनी त्यहाँको उच्चस्तरीय राजनीतिक संयन्त्रसँग सघन संवादमा भएको जसपास्रोतले जनाएको छ । भन्नलाई मल अभाव टार्नका लागि आफैँ दिल्ली गएको भने पनि वास्तवमा मन्त्री गएर वा नगएर मल आउने र नआउने कुरा निर्धारण हुँदैन । अचेल उनी बाबुराम, मोहम्मद इस्तियाक राइन, प्रदीप यादवहरूसँग राम्रै निकट देखिन्छन् ।

टिप्पणीहरू