आगामी चुनाव मंसिरमा हुनेमा प्रचण्ड ढुक्क

आगामी चुनाव मंसिरमा हुनेमा प्रचण्ड ढुक्क

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको चुनाव आगामी मंसिरमा गर्ने तयारी भइरहेको बताउनुभएको छ । आज बर्दियाको बेलभारमा बोल्दै उहाँले प्रदेश र संघीय चुनाव मंसिर पहिलो साताभित्र गर्ने तयारी भइरहेको बताउनुभएको हो ।

त्यसअवसरमा प्रतिपक्ष दलहरुले पनि सोही समयमा चुनाव गर्नुपर्ने कुरा गर्दै आएको अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभयो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘प्रतिपक्षले पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा गरेको छ ।’

प्रधानमन्त्रीलगायत गठबन्धनमा सामेल दलहरुबीच भएको छलफलमा मंसिरको पहिलो हप्तामा निर्वाचन हुने सम्भावना बढी रहेको उहाँले उल्लेख गर्नुभयो । ‘चुनाव मंसिरमै हुन्छ, हामी कोही पनि कन्फ्युज हुन पर्दैन ।’

चुनाव एकै पटक वा दुई चरणमा गर्ने भन्नेबारे उहाँले स्थानीय तह चुनाव एकै चरणमा सम्भव भएकाले संघीय र प्रदेशको चुनाव झन् सहज हुने उल्लेख गर्नुभएको हो । आफूहरुले एकै चरणमा निर्वाचन गर्ने छलफल चलाए पनि सुरक्षाका कारण दुई चरणमा गर्ने विषय पनि प्रवेश भएको उहाँको भनाइ छ ।

टिप्पणीहरू