भारतीय ‘पाहुना’ को टोली पहिले बालुवाटार, पछि शीतल निवास

भारतीय ‘पाहुना’ को टोली पहिले बालुवाटार, पछि शीतल निवास

लामो समयदेखि सदनमा अड्किएको नागरिकता विधेयक संसद्को यही अधिवेशनबाट पास गरेर महन्थ ठाकुरहरुलाई सरकारमा लैजाने भित्री तयारी चलिरहेको चर्चाबीच नेपालमा भारतीयहरुको सक्रियता बढेको छ ।

मधेसवादी दलहरुले उठाइरहेको नागरिकता विधेयकलाई अप्रत्यक्षरुपमा आफ्नो सरोकारको विषय बनाएको भारतले यतिबेला उच्चस्तरीय भेटघाटलाई तीब्रता दिएको हो ।

म्यान्मारका लागि राजदूत सिफारिस भएपछि नेपाल छाड्ने तयारीमा रहेकी भारतीय कार्यवाहक राजदूत नाम्ग्या छोदेन खम्पाले काठमाडौँ बसेर त्यसको नेतृत्व गरिरहेकी छन् । बिदाइ भेटका नाममा हुने गरेका प्रधानमन्त्री, दलका शीर्ष नेता, मन्त्री, सांसदलगायतसँगको कुराकानीमा उनले आफ्नो सरोकार राख्ने गरेको बताइन्छ ।

यसैबीच भारतीय संस्थापन पक्षका एक नेता हिजो कार्यवाहक राजदूत खम्पासँगै शीतल निवास र बालुवाटारमा देखिएका थिए । भारतीय जनता पार्टी (भाजपा) का पूर्वउपाध्यक्ष तथा राज्यसभा सदस्य डा. विनय सहस्रबुद्धेलाई लिएर खम्पा र दूतावासका प्रवक्ता नवीनकुमार दिउँसो बालुवाटार छिरेका हुन् ।

करिब आधा घण्टा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गरेर उनीहरु बालुवाटारबाट निस्किएका थिए । बालुवाटारबाट निस्किएर भारतीय टोली सिधै शीतल निवास पुगेको र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको बताइएको छ ।

टिप्पणीहरू