भेट उच्चस्तरको, चर्चा रावणको

भेट उच्चस्तरको, चर्चा रावणको

रामदेखि रावणका कुरा, चीनदेखि अमेरिकाको चिन्ता ! एमाले अध्यक्ष केपी ओली आजकल यसरी आफ्ना कुरा शुरु गर्नुहुन्छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई भेट्न बोलाउनुभयो । भेटमा शुरुवातको आधा घण्टा राम, सीता, जानकी मन्दिर र श्रीलंकामा रावणको राजसम्मका कुरा गरेर बिताउनुभयो ।

जसरी राजनीतिक बृत्तमा ओली–नारायणकाजी भेटलाई आगामी चुनावी गठबन्धन लक्ष्यित भनेर प्रचार गरिएको छ, त्यतातिर न ओलीले जोड दिनुभयो, न नारायणकाजीले नै ।

बरु, ओली आफैँले संसदबाट पारित गर्नुपर्ने प्रावधानका साथ अगाडि बढाउनुभएको अमेरिकी सहायता परियोजना (एमसिसी) ले राष्ट्रियता संकटमा पर्ने कुरा गर्न भ्याउनुभयो । उहाँले नै हो, अमेरिकासँग सैन्य सहकार्यसम्बन्धी समझदारीपत्र हस्ताक्षर गर्ने तारतम्य मिलाउनुभएको ।

अहिले तिनै विषय चीनका प्रतिकूल भएको र अमेरिकासँगको निकटताले राष्ट्रियता संकटमा परेको कुरा गरिरहनुभएको छ । नारायणकाजीसँग यस्तै यस्तै कुरा गरेर उहाँले साढे दुई घण्टा बिताउनुभयो ।

तर, जवाफमा नारायणकाजीले राष्ट्रियतामाथि यति गम्भीर परिस्थिति निर्माण हुनुसँग ओली कार्यकालका गतिविधि कारक भएको बताउनुभयो । ओलीले दोहो¥याइरहनुभयो, ‘राष्ट्रियता ठूलो संकटमा छ, हामी मिलेर देश बचाउनुप¥यो ।’

तर, त्यसरी मिल्ने भनिएका देशभक्त कोको छन् र कसरी मिल्ने भन्ने मोडालिटीबारे नारायणकाजीले जिज्ञासा राख्दा ओलीले प्रष्ट जवाफ दिनु भएन । ४ बजेदेखि साँझ ७ बजेसम्म चलेको उक्त भेटमा राजनीतिक सन्दर्भमा थोरैमात्र कुरा भएको नारायणकाजीले जनआस्थालाई बताउनुभयो ।

तर, चुनावमा भोगेको पराजयप्रति ओलीमा थोरै पनि स्वीकारोक्ति नभेटिएको उहाँको भनाइ छ ।

टिप्पणीहरू