एमाले अध्यक्षलाई मिखाइल गोर्वाचेभसँग दाँजियो
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुवै हातमा चिया बोकेर पाहुनालाई आतिथ्य दिनुभएको फोटो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । सञ्चारकर्मी तथा “मातृभूमिका लागि नेपाली”का मुख्य व्यक्ति देवप्रकाश त्रिपाठीले सामाजिक सञ्जालमा फोटो टाँसेर लेख्नुभएको स्टाटसमाथि कमेन्ट गर्नेहरुले अध्यक्ष ओलीलाई तत्कालीन सोभियत संघका राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव मिखाइल गोर्वाचेभसँग दाँजेका हुन् ।
त्रिपाठीले मध्यराती भेटेको बेला खिचेको चिया बोकेको फोटोको प्रशंसा गर्दै ओलीलाई ‘असाधारण नेता’ भनेपछि उहाँको स्टाटसमा कमेन्ट लेखिएको हो । त्रिपाठीले ओलीलाई असाधारण लेख्नुअघि परराष्ट्रमन्त्री नारायण खड्काको पनि मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।
‘मन्त्री तहका नेतामध्ये डा.नारायण खड्का अतिथिहरूलाई आफैँ चिया सर्भ गर्नुहुन्छ र, चियाका रित्ता कप उठाउने पनि गर्नुहुन्छ । आफूकहाँ आएका साधारण अतिथिलाई आफैँले चिया पकाएर सर्भ गर्ने असाधारण नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक अरू कोही भए जानकारी पाउन चाहन्छु !,’ उहाँले लेख्नुभएको छ ।
तर त्यही फोटोको मुनितिर दिपक अनुरागीले लेखेका छन्, ‘गोर्भाचोभलाई यसैगरी उकास्थे रे ! कम्युनिष्ट सकाउन विभिन्न व्यक्ति लागेकै छन् । अचम्म देख्न पर्यो ।’ दिपकले त्रिपाठीको उक्त प्रशंसालाई कम्युनिष्ट सकाउने मेलोको रुपमा बुझेका छन् । उनै दिपकको कमेण्टको समर्थन गर्दै पूर्ण कार्कीले भनेका छन्, ‘अचम्म देख्न पर्यो ।’
मिखायल गोर्भाचोभ उनै नेता र महासचिव हुन् जसले अमेरिका र पश्चिमा राष्ट्रहरुको उक्साहटमा सोभियत संघबाट कम्युनिष्ट सत्ता फ्याँक्न सबैभन्दा ठूलो योगदान पुर्याएका थिए । त्यसपछि सोभियत संघमा आवद्ध सबै १५ गणराज्य स्वतन्त्र राष्ट्रको हैसियतमा पुगे । रुस आर्थिक रुपमा निकै कमजोर बन्यो । तर, अहिलेका राष्ट्रपति भ्लादिमिर पुटिनले पहिले राष्ट्रपति,बीचमा प्रधानमन्त्री र अहिले फेरि राष्ट्रपतिको जिम्मेवारी लिएपछि मुलुकलाई आर्थिक,सामाजिक र राजनीतिक रुपमा निकै शक्तिशाली बनाएका छन् ।
टिप्पणीहरू