प्रचण्डको प्रतिवेदनमा रुस–युक्रेन युद्धका भित्री कुरा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालसामु अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आएको परिवर्तनको प्रभावलाई कुशलतापूर्वक सामना गर्नुपर्ने चुनौति रहेको बताउनुभएको छ । आजबाट सुरु पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रचण्डले रुस–युक्रेन युद्धको अन्तर्यमा पश्चिमा शक्ति र रुसबीच संघर्ष टकराएको उल्लेख गर्नुभएको छ । ‘कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण अहिले विश्व राजनीति र अर्थतन्त्रमा गम्भीर संकट देखापरेको छ,’ ’प्रतिवेदनको ’वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भहरु’ शीर्षकमा भनिएको छ, ‘सतहमा रुस–युक्रेन युद्ध देखिए पनि यसको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडिरहेका छन । यस युद्धले विश्व शक्ति सन्तुलनमा आउँदै गरेको परिवर्तनलाई संकेत गरेको छ ।’
युरोप र एसियाको बीचमा रहेको रुसको अवस्थिति, सोभियत संघको विघटनपछि भइरहेको पुनःउदय, चीनसँगको बढ्दो सहकार्य र निकटता, ताइवान, तिब्बतलगायतको विषयलाई लिएर चिसिएको चीन–अमेरिका सम्बन्ध, चीन–भारत अर्थतन्त्र र सामथ्र्यको विस्तार नै वर्तमान अन्तर्राट्रिय राजनीतिका प्रमुख मुद्दा रहेको प्रचण्डको दाबी छ ।
अबको अन्तर्राष्ट्रिय राजनीति यिनै सन्दर्भको वरिपरि घुम्ने भन्दै उहाँले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आएको परिवर्तनको प्रभावलाई नेपालजस्तो विशिष्ट भू–राजनीतिक अवस्थाको देशले कुशलतापूर्वक सामना गर्नुपर्ने चुनौती औंल्याउनु भएको छ ।
कोभिड महामारीको असर र रुस–युक्रेन युद्धले विश्वको आर्थिक तथा आपूर्ति प्रणालीमा ठूलो प्रभाव पारेको उल्लेख गरेका प्रचण्डले नेपाल जस्तो आयातमा निर्भर अर्थतन्त्र भएका देशहरूमा मात्र नभई विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रसमेतको आर्थिक वृद्धिदरमा कमी आउने देखिएको बताउनु भयो ।
प्रचण्डको प्रतिवेदनमा वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि समेटिएको छ । यस्तै आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख छ ।
टिप्पणीहरू