साउनदेखि जेठसम्म नेपालीले ४१ करोडको चुईंगम पड्काए

साउनदेखि जेठसम्म नेपालीले ४१ करोडको चुईंगम पड्काए

उच्च आयातको कारण विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि नेपाल राष्ट्र बैंकले गत पुस र माघमा ४७ वस्तुको आयातमा कडाइ गर्यो । उक्त कडाइसँगै लागु गरिएको एलसीको नयाँ व्यवस्थाले विलासी वस्तुको आयात घट्दै गएको छ ।

दैनिक आवश्यकताभित्र नपर्ने कतिपय वस्तु र सेवा खरिद गरी नेपालले ठूलो मात्रामा विदेशी मुद्रा खर्च गरिरहेको छ । स्वास्थ्यलाईसमेत फाइदा नपुग्ने, कुनै पनि हिसाबले महत्व नभएको वस्तु आयात गरेर अझै पनि नेपालको विदेशी मुद्रा सञ्चिति घटाइएको छ ।

अनावश्यक खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको एउटा उदाहरण हो चुइगम आयातको तथ्याङ्क । मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे प्रायः सबैमा चेतना हुँदा हुँदै पनि यस्ता अनावश्यक र विलासी वस्तुको आयातमा अर्बौं रुपैयाँ नेपालले खर्च गरिरहेको छ ।

हाम्रै खेतबारीमा सहज तवरले उत्पादन गर्न सकिने वस्तुदेखि अनावश्यक ठानिएका वस्तुको आयात गरेर ठूलो मात्रामा विदेशी मुद्रा खर्च गरेर नेपालीले आफैँलाई थप परनिर्भर बनाएको बताइन्छ । यस्तै तथ्याङ्क अहिले भन्सार विभागले निकालेको छ । जुन दैनिक आवश्यकता वा मानव स्वास्थ्यको निम्ति अत्यावश्यक देखिँदैन ।

विभागले जारी गरेको चालु आर्थिक वर्षको ११ महिनाको आयात निर्यातसम्बन्धी विवरणमा जेठ मसान्तसम्म १३ लाख दुई हजार १९५ किलो चुईंगम आयात गरेको छ । चुईंगम आयातमा नेपालले झण्डै ४१ करोड रुपैयाँ खर्च गरेको छ ।

नेपालमा विशेष गरी, चीन, भारत र युरोपेली देशबाट चुइगम आयात हुने गरेको छ । उक्त अवधिमा चकलेट र यससँग सम्बन्धित वस्तु आयातमा दुई अर्ब ८३ करोड ८८ लाख ८१ हजार बराबरको रकम बाहिरिएको छ ।

११ महिनाको अवधिमा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ । यस्तै कुरकुरे, कुरमुरे, लेज, चिजबल्स जस्ता जंक फुड ‘पत्रु खानेकुरा’ को आयातसमेत करोडौँमा हुने गरेको छ । तर यसबाट विदेशी मुद्राको खर्च भइरहेको छ ।

चालु आवको पहिलो ११ महिनामा १४ लाख २४ हजार ३६९ किलो बराबरको त्यस्ता खानेकुरा आयात भएको छ । त्यसका लागि मात्रै ६६ करोड ६५ लाख २५ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ ।

यो अवधिमा बिस्कुट आयातमासमेत झण्डै डेढ अर्ब रुपैयाँको भएको छ । जेठ मसान्तसम्म एक अर्ब ३७ लाख रुपैयाँभन्दा बढीको बिस्कुट आयात गरिएको छ ।

त्यस्तै पापड १९ करोड ९४ लाख, कर्नफ्लेक्स १८ करोड ४९ लाखको आयात गरिएको भन्सार विभागले जनाएको छ । विदेशी मुद्राको सञ्चिति ओरालो लागेको बेला अनावश्यक ठानिएका यस्ता वस्तुको तत्काल आयातमा प्रतिबन्ध लगाउनुपर्नेमा अर्थमन्त्रालयलगायत सरोकारवाला निकाय चुप लागेर बसेका छन् ।

टिप्पणीहरू