आयोजना शुरुलगत्तै वरपरका क्षेत्र डुवानमा
सुनकोशी तेस्रो जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । त्यहाँबाट उत्पादित बिजुली बंगलादेश लैजाने सहमति भएको छ । नेपालबाट बंगलादेशमा विद्युत् व्यापारका लागि नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई तोकिएको छ ।
दुई देशबीच सन् २०१८ मा उर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएकामा बंगलादेशले नेपालको एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गरेको थियो । हाल विद्युत् विकास विभागद्वारा विभिन्न चरणमा अध्ययन भइरहेको उक्त आयोजनालाई बंगलादेशले संयुक्त लगानीमा निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो ।
आयोजना निर्माणपछि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको वडा नम्बर १, ३ र ४, बलेफी गाउँपालिकाको वडा नम्बर ५, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ९, १०, ११, १२ र १४, इन्द्रावती गाउँपालिकाको वडा नम्बर १०, ११ र १२, मेलम्ची नगरपालिकाको वडा नम्बर १३ डुवानमा पर्ने निश्चित छ । यसका साथै आयोजनाबाट काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नगरपालिका, रामेछापका दुई गाउँपालिका तथा सिन्धुलीको एउटा गाउँपालिकामा डुवानको असर पर्ने देखिएको हो ।
सुनकोशी–३ बाट ५३६ मेगावाट विद्युत् उत्पादन हुने र यसका लागि लुभूघाटस्थित नदीमा करिब ४८४ मिटर लामो, १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलब एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभूघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिने छ । विद्युत् उत्पादनपछि उक्त पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिनेछ ।
आयोजना निर्माणबाट सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुली जिल्लाका करिब एक हजार छ सय परिवार प्रभावित हुनसक्ने प्ररम्भिक अध्ययनबाट देखिएको छ । आयोजनाका लागि सर्भेक्षण, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत इञ्जिनीयरिङ डिजाइनको काम पनि सकिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइ समेत भइसकेका कारण आयोजना अघि बढेको इञ्जिनियर सुवास थपलियाले जानकारी दिए ।
सन् १९८५ मा जापान इन्टरनेशनल कोअपरेशन (जाईका) ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युतको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त संस्थाका अनुसार १० उत्कृष्ट जलाशययुक्त विद्युत परियोजनामध्ये सुनकोशी तेस्रो पनि एक हो । विक्रम सम्बत २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत आयोजना (दुई दशमलब चार मेगावाट क्षमता) निर्माणपश्चात प्रस्तावित सुनकोशी–३ जिल्लाको दोस्रो आयोजना हुने भएको छ ।
टिप्पणीहरू