मन्त्रालयको निर्णयमा माधव नेपाललाई मुछियो

मन्त्रालयको निर्णयमा माधव नेपाललाई मुछियो

शहरी विकास मन्त्रालयले गरेको पछिल्लो निर्णयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामसमेत मुछिएको छ । यसअघि मन्त्री रहेकी रामकुमारी झाँक्रीले गत वर्ष कात्तिक १४ गते गरेको निर्णय अहिलेका मन्त्री मेटमणि चौधरीले उल्टाइदिएपछि अध्यक्षको नाम लिइएको हो ।

मन्त्री झाँक्रीले गत वर्षदेखि उपभोक्ता समितिबाट गर्ने काममा लगाएको रोक अहिले फुकुवा गरेपछि अध्यक्ष माधव नेपालको निर्देशनमा भएको एकथरिले आरोप लगाएका छन् । मन्त्री फेरबदलमा जिम्मेवारीबाट मुक्त भएका नेताहरु बेखुश देखिएकाले पनि अहिलेको निर्णयमा पार्टी अध्यक्षको हस्तक्षेप भएको आरोप लगाइएको हुनसक्ने अड्कल लगाइएको छ ।

पूर्वमन्त्री झाँक्री निकट स्रोतले भन्यो, ‘कात्तिक १४ गते रोक्ने निर्णय भएको थियो । अहिलेका मन्त्रीले कसको करकापमा परेर हो उल्टाइदिनुभएछ ।’ मन्त्रालयका उच्चअधिकारीहरु महालेखा परीक्षक कार्यालयको ५६, ५७ र ५८ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएका कैफियतलाई सुधार्न कात्तिक १४ गते निर्णय गरिएको बताउँछन् । उपभोक्तामार्फत निर्माण गराउँदा गुणस्तरहीन काम,प्रतिस्पर्धाको अभाव,सोझै उपभोक्तालाई दिने गरिएको देखिएको थियो । त्यही कारण बेरुजुको अंक बढेको उनीहरुको बुझाइ थियो ।

उक्त कार्य सार्वजनिक खरिद र निर्माणको उद्देश्यअनुसार नभएको, स्थानीय तहसम्म भ्रष्टीकरण बढेको, नेताहरुको प्रत्यक्ष सम्बन्ध योजना, उपभोक्ता समिति र कार्यकर्तासँग देखिएपछि अख्तियारले पटक पटक चासो दिएको पूर्वमन्त्री निकट स्रोतको दाबी छ । ‘अख्तियारको पत्र र विभिन्न समयमा संसदीय समितिको निर्देशनको आधारमा मैले अर्को व्यवस्था नहुञ्जेलका लागि भनेर रोकेको थिएँ,’ झाँक्रीले भन्नुभयो ।

गत वर्ष उक्त निर्णय गराउँदा अध्यक्ष नेपालले असन्तुष्टि पोख्नुभएको र उक्त निर्णय उल्टाइएकोमा एकीकृत समाजवादीको सचिवसमेत रहनुभएकी झाँक्रीलाई उल्लेख गर्दै पार्टी स्रोतले बताएको छ । त्यतिबेला नेपालले ‘यो लङ टर्मको मन्त्रीले गर्ने काम भएकाले चुनावमा जानुपर्ने, नयाँ पार्टी बनाउनुपर्ने बेलामा उक्त काम ठीक नभएको गुनासो गर्नुभएको,’ सन्दर्भ पनि अहिले बाहिर आएको छ ।

टिप्पणीहरू