एसएसपी बढुवामा रातारात चलखेल गर्ने को ?
नेपाल प्रहरीमा एसपीको बढुवा प्रक्रिया गत मध्यरातबाट शुरु भएको छ । अहिलेसम्म सबैभन्दा धेरै संख्यामा एकैचोटी हुन लागेको एसएसपी बढुवाको निम्ति अनेक खेल, तिकडम र राजनीति चलिरहेको छ ।
प्रहरी संगठनमा रहेको एक जना महानिरीक्षक,आधा दर्जन एआइजी र सोही अनुपातमा डीआइजी बढुवाको काम सकिएपछि अहिले एसएसपी बढुवाको तातो लागेको हो । अबको बढुवापछि ३२ जना एसएपी एसएसपी हुनेछन् । पालो मिचेर भए पनि बढुवा हुन परेकाले प्रहरी हेडक्वार्टर र गृह मन्त्रालयमा सोहीअनुकूलका खेल भएको बताइन्छ ।
एएएसपीको बढुुवालाई नजिकबाट हेरेका एक जना एआइजीले भने, ‘लफडा यसैमा छ । सबैलाई मौका छोप्न परेको छ । राम्रालाई भन्दा हाम्रालाई बढुवा गर्न खोजेपछि अहिले बढुवामा अचम्मको गाँठो पर्दै गएको हो ।’ गए राति १२ बजेसम्म प्रहरी प्रधान कार्यालयमा एसपीहरुको पर्सनल फाइल खोल्ने काम भएको थियो ।
गृहसचिव बढुवा समितिको अध्यक्ष हुने व्यवस्था छ । अहिले प्रहरी महानिरीक्षकसमेत भएर फाइल पल्टाउन थालिएको हो । आज दिनभरसम्ममा बढुवाको टुंगो लगाउने गरी भएको हिजोको दौडधुपप्रति सबैले कौतुहलतापूर्वक हेरिरहेका छन् ।
“नारायणहिटी दरबार संग्रहालयको पूर्वी ढोका जहाँ गणतन्त्र स्मारकको गेट छ । त्यहाँबाट केही मीटर उत्तरतर्फ बाँसको झ्याँगभन्दा पूर्वतर्फ इमागो डेइ क्याफे ग्यालरी रेष्टुरेन्ट छ । त्यो ठाउँ पनि केही समयदेखि एसएसपी बढुवाको निम्ति बार्गेनिङ गर्ने थलो बनेको बताइन्छ ।”
स्रोतका अनुसार एसएसपी बढुवामा दुई वटा विवाद स्पष्ट देखिएको छ । यसपटकको बढुवामा अधिकांश २०५४ सालको इन्सपेक्टर ब्याचका एसपी स्वतः आकांक्षी हुने नै भए । उनीहरुलाई संगठनभित्र १११ लटको नामले चिनिन्छ । तिनैमध्ये केहीलाई पछाडि पार्न खेल खेलिएको दाबी गरिएको छ ।
त्यसपछि लट नम्बर ११२ का केही एसपीलाई पनि अहिलेको मेसोमा घुसार्ने खेल छ । अर्कोतिर तत्कालीन गुप्तचर तथा हालको राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरी संगठनमा २०५९ मा समाहित भएका कमर्चारीलाई पनि वरिष्ठता कायम गरेर अगाडि लैजान विभिन्न सिंग र जुरो निकाल्न थालिएकाले चर्को विवाद देखिएको बताइन्छ ।
अहिलेको विवादमा ओखलढुंगाका पूर्व माननीय रामहरि खतिवडालाई साह्रै तातो लागेको देखिन्छ । उनले ‘गृहमन्त्रीले आफूलाई प्रायः राति ९ बजेपछि सोमरस खान निवासमै बोलाउने गर्नुभएको र डिफ्याक्टो नै आफू भएकाले अन्यत्र मन नडुलाउनु,’ भन्दै आकांक्षीहरुको बीचमा गरेको गफले पनि समस्यालाई जकडाउने काम गरेको बताइन्छ ।
नारायणहिटी दरबार संग्रहालयको पूर्वी ढोका जहाँ गणतन्त्र स्मारकको गेट छ । त्यहाँबाट केही मीटर उत्तरतर्फ बाँसको झ्याँगभन्दा पूर्वतर्फ इमागो डेइ क्याफे ग्यालरी रेष्टुरेन्ट छ । त्यो ठाउँ पनि केही समयदेखि एसएसपी बढुवाको निम्ति बार्गेनिङ गर्ने थलो बनेको बताइन्छ । त्यहिँ बसेर खतिवडालगायतले एसएसपीका केही आकांक्षीसँग खानपिन गर्दै आएका छन् ।
यही चलखेलको क्रममा गएराति उनीहरुको फाइल खोलिएको हो । बढुवाको प्रक्रिया अघि बढाउने भन्दै खोलिएको पोको अब बन्द गर्न मिल्दैन । त्यहि सिफारिस समितिले कार्य सम्पादन मूल्यांकनको आधारमा बढुवाको निम्ति आवश्यक नाम गृह मन्त्रालयमा पठाउँछ । त्यसपछि गृहसचिवको अध्यक्षतामा महानिरीक्षक धिरजप्रताप सिंह र एआइजी पूजा सिंहसमेत रहेको समितिले दस्तखत धस्काएपछि उनीहरुको भाग्य खुल्ने वा बन्द गर्ने कार्य हुनेछ । सम्भवतः यो काम आज रातिसम्म सकिने उच्च स्रोतको दाबी छ ।
टिप्पणीहरू