माओवादीले चुनावलक्षित प्रशिक्षण गर्ने

माओवादीले चुनावलक्षित प्रशिक्षण गर्ने

नेकपा माओवादी केन्द्रको नवगठित स्थायी समितिको पहिलो बैठक बसेको छ । आज बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी पुनर्गठन प्रक्रिया र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो ।

अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेताहरु वर्षमान पुन, देवप्रसाद गुरुङ, जनार्दन शर्मा, पम्फा भुसाललगायत दुई दर्जन बढी सदस्यको उपस्थिति थियो ।
आजको बैठकले गत स्थानीय तहको चुनावमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटासहितको तीन सदस्य समिति गठन गरेको छ ।

त्यसैगरी आगामी प्रदेश र संघीय निर्वाचन लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण हुनेछ । कार्यक्रमअनुसार साउन १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १ मा, २४ गते लुम्बिनी, २८ गते सुदूरपश्चिम, २९ गते कर्णालीमा, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण गर्ने मिति तय गरिएको छ ।

बैठकले पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा देखिएको विवाद समाधान गर्न पूर्वविद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको तीन सदस्यीय सुझाव समिति पनि गठन गरेको छ ।

टिप्पणीहरू