निर्वाचन आयोगले राप्रपासँग महाधिवेशनको कागजात माग्यो

निर्वाचन आयोगले राप्रपासँग महाधिवेशनको कागजात माग्यो

अध्यक्ष राजेन्द्र लिङ्गदेनको कार्यशैलीविरुद्ध ‘विद्रोह’ को तयारीमा जुटेको एउटा खेमाले महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै निर्वाचन आयोग गुहारेपछि पूर्वपञ्चहरुको पार्टी राप्रपामा नयाँ किचलो शुरु भएको छ । आयोगमा दर्ता भएको पार्टीको संशोधित विधान महाधिवेशनले पारित नै नगरेको दावी गर्दै असन्तुष्ट खेमाका नेता श्याम तिमिल्सिनाले हालेको उजुरीलाई टेकेर आयोगले आज जवाफ मागेपछि राप्रपा विवादले नयाँ मोड लिएको हो ।

गत मंसिरमा सम्पन्न महाधिवेशनले पारित गरेको विधानविपरित अर्कै ‘डमी’ विधान प्रयोग गरिएको भन्दै तिमिल्सिनाले हिजो आयोगमा उजुर हालेका थिए । उजुरीमा महाधिवेशनबाट पारित नभएको विधान आयोगमा दर्ता गराइएको भन्दै खारेज गर्न माग गरिएको छ ।

उजुरीमा २०७८ मङ्सिर १५,१६, १७ र १८ गते सम्पन्न एकता महाधिवेशनले पारित गरेको भन्दा फरक संशोधित विधान पेश गरिएको भन्दै त्यसलाई अवैध घोषणा गर्न माग गरिएको छ । ‘२०७८ फागुन ११ गते दर्ता नम्बर १६८५ मा दलको विवरण परिवर्तन गरिएकोबारे विधान हेरफेर भएको दोस्रो महलमा ‘यो विधान महाधिवेशनबाट पारित भएको मितिबाट लागू हुनेछ’ भन्ने उल्लेख छ । तर विधान पारित भएको निर्णय पुस्तिका र सो निर्णयको प्रमाणितप्रति नभएकाले उक्त विधान महाधिवेशनबाट पारित विधान होइन’, उजुरीमा लेखिएको छ ।साथै,आयोगमा बुझाइएको संशोधित विधानसँगै त्यसको निर्णय पुस्तिका संलग्न नगराएकाले अन्तरिम विधान नै वैध हुने असन्तुष्ट खेमाको दाबी छ । उक्त उजुरीमाथि निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले तत्काल कारवाही अघि बढाएको छ । राप्रपालाई पत्र लेखेर आयोगले तीन दिनको समयसीमा तोक्दै यस सम्बन्धमा स्पष्ट पार्न भनेको हो ।

‘मिति २०७८ पुस १० को पत्रबाट अद्यावधिकका लागि पेश भएका कागजातहरु जाँचबुझ र अध्ययन गर्दा केही विषयमा स्पष्ट गर्नुपर्ने देखिएकाले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्पष्ट गरी जवाफ उपलब्ध गराइदिनुहुन आदेशअनुसार जानकारी गराइन्छ’, शाखा अधिकृत नवराज बिष्टले पठाएको पत्रमा भनिएको छ ।

राप्रपाले यसअघि पेश गरेको कागजातबाट दलको महाधिवेशनबाट के–कस्तो प्रक्रिया अपनाई विधान संशोधन भएको र के कस्तो कार्यविधिगत प्रक्रिया अवलम्बन गरिन्छ ? भन्ने कुरा नखुलेकाले विधान संशोधन प्रक्रियामा सहभागी भएका केन्द्रीय पदाधिकारी एवं प्रतिनिधिहरुको हस्ताक्षरसहितको सक्कल कागजात भएको फाइल उपलब्ध गराउन आयोगको पत्रमा उल्लेख छ ।साथै, अद्यावधिकका लागि पेश भएका केही केन्द्रीय सदस्यहरु आयोगमा रहेको अर्को दलको केन्द्रीय सदस्य रहेको देखिन आएकाले ती केन्द्रीय सदस्यहरुको नामावली हटाउन पनि आयोगले राप्रपालाई भनेको छ ।

निर्वाचन आयोगमा जानुअघि राप्रपाको असन्तुष्ट पक्षका आधा दर्जनभन्दा बढी नेताले हिजो गोप्य छलफल गरेका थिए । उक्त छलफलमा राजाराम श्रेष्ठ,सुन्दर खड्का, केशव श्रेष्ठ,श्याम तिमिल्सिना,दिलविकास राजभण्डारी,दिलनाथ गिरी,दमन बस्नेतलगायत थिए । उनीहरुले राप्रपासँग आन्तरिक विषयमा र अन्य दलसँग वार्ता गर्न कमिटी बनाएको पनि बताइएको छ ।

टिप्पणीहरू