जनकपुरका विद्यालय आजदेखि बन्द, प्रधानाध्यापक सम्पर्कमा रहनुपर्ने
जनकपुर उपमहानगरपालिकाका विद्यालय एक महिनासम्म बन्द हुने भएका छन् । उपमहानगरले आजदेखि लागु हुने गरी आगामी साउन २६ गतेसम्म बिदा दिएको हो ।
शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्दै उपमहानगरभित्रका सामुदायिक विद्यालय एक महिनासम्म बन्द रहने जानकारी गराएका छन् ।
एक शैक्षिक सत्रमा हिउँदे र वर्षे बिदा गरी ४५ दिन विद्यालयमा पठनपाठन बन्द रहने व्यवस्था रहेको उल्लेख गर्दै सामुदायिक विद्यालयमा पालिकाको शैक्षिक क्यालेण्डरबमोजिम छुट्टी दिइएको उनको भनाइ छ ।
‘विद्यालयमा पठनपाठन बन्द हुँदा पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखा सानोठिमी भक्तपुरको पत्रअनुसार सबै विद्यालयका प्रधानाध्यापकलाई वर्षे बिदाभरि उपमहानगरपालिकाको सम्पर्कमा रहन अनुरोध छ’, सूचनामा उल्लेख छ ।
यस्तै, विद्यालयका पूर्वनिर्धारित कार्यक्रम कक्षा ११ र १२ मा भर्ना तथा प्राविधिक शिक्षासम्बन्धी गतिविधिलगायतका कार्यक्रम यथावत् सञ्चालन रहने जनाइएको छ ।
टिप्पणीहरू