चिनियाँ पाहुना आज जाने,हाम्रा राजदूत भोलि जाने
नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल आज राति ११ बजे स्वदेश फर्कंदैछ । उक्त पार्टीको विदेश विभाग प्रमुख लिउ चियन्छाओको नेतृत्वमा आएको सात सदस्यीय टोलीले आज दिउँसो भक्तपुरको अवलोकन गरेपछि राति फर्कने कार्यतालिका रहेको छ ।
यता चीनका लागि नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदको सपथ ग्रहण गर्नुभएको छ । हिजो शपथग्रहणसँगै चिनियाँ राष्ट्रपति सि जिनफिङसमक्ष बुझाइने ओहोदाको प्रमाणपत्र पनि शीतल निवासले उहाँको जिम्मा लगाएको छ । उहाँ भोलि चीनको राजधानी बेइजिङतर्फ जाने कार्यक्रम छ ।
यसबीचमा आएको चिनियाँ पाहुना टोलीसँग उहाँको अस्ति बेलुकी सोल्टी होटलमा संक्षिप्त भेटवार्ता भएको थियो । राजदूत श्रेष्ठलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ पाहुनालाई सोल्टीमा दिनुभएको रात्रिभोजको क्रममा परिचयको निम्ति बोलाएको बताइन्छ ।
आज राति चीन फर्कने प्रतिनिधिमण्डलका सदस्यहरु त्यहाँ पुगेपछि १० दिन क्वारिन्टिनमा बस्नुपर्ने नियम छ ।
भोलि त्यसतर्फ जाने हाम्रा राजदूत पनि त्यसैगरी क्वारिन्टिनमा बस्नुपर्ने पक्का छ । उहाँ कुन रुटबाट त्यता जाने हो भन्ने खबर आएको छैन । चीनका विभिन्न शहरमा पहिलेझैँ काठमाडौंबाट साढे दुई वर्षदेखि नियमित उडान छैन । त्यसैले चीनको पहिलो शहरमा पुगेपछि राजदूत पनि क्वारिण्टन बस्नुपर्ने हुन्छ ।
राजधानी बेइजिङ पुगेपछि स्वास्थ्य मापदण्डको थप पालना गर्नैपर्ने छ । त्यसैले यस्तो अवस्थामा अब चीन पुगेपनि महामहिमले ओहोदाको प्रमाणपत्र कहिले बुझाउने पालो आउला ? त्यो थाहा पाउन केही समय कुर्नुपर्ने छ ।
टिप्पणीहरू