पतिलाई मुटुरोग,स्याहार्ने श्रीमती पाठेघरको बिरामी,सानी छोरीको बिचल्ली
‘कसैलाई पनि यस्तो आपत् नआओस्,’कुमार नेपालीको भनाइ हो यो । नुवाकोटको ककनी गाउँपालिका ५,थानसिंङका नेपाली असार लागेपछि निकै थलिएका छन् । मुटुरोगी उनको पूरै शरीर सुन्निन थालेको छ । स्याहार गर्ने श्रीमतीको पनि स्वास्थ्य अवस्था खराब छ । काखमा सानी छोरी छन् । त्यसैले उनी पटक पटक भन्छन्, ‘यस्तो आपत कसैलाई नपरोस् ।’
उपचार रकमको अभावका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएको देखिन्छ । २०७३ सालदेखि मुटुको समस्या भोगिरहेका कुमारको शरीर पूरै सुन्निएकाले परिवार चिन्तित छ । राजधानीको टोखा नगरपालिका ११ मा एउटा सानो कोठा बहालमा रहेका उनीसँगै श्रीमती र छ वर्षीया सानी छोरी छन् । आजभन्दा ३३ वर्षअघि काठमाडौं आएका उनी पहिले लुगा सिउँथे । त्यसबाट जसोतसो गुजारा चलिरहेको थियो । तर, एक्कासी मुटुको समस्याले च्यापेपछि परिवारमा बज्रपात परेको हो ।
छ वर्षअघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका कुमारलाई चिकित्सकले मुटुको धड्कन कम भएको बताएका थिए । डाक्टरका अनुसार उनलाई पाँच पटक हृदयाघातको संकेत देखिएको थियो । अहिले कुमारको पेट निकै फुलेको छ । पहिले छ महिनामा उपचार गरे पुग्ने उनलाई अहिले महिना दिन नबित्दै अस्पताल लैजानुपर्ने भएपछि समस्या थपिएको हो । सबैभन्दा ठूलो समस्या आर्थिक रहेको परिवारको भनाइ छ । एक पटक अस्पताल लैजाँदा ६० हजार रुपैयाँ सकिने गरेको श्रीमती अनिता परियार बताउँछिन् । उपचार खर्चको जोहो गर्न धौ धौ परेको उनको भनाइ छ ।
अर्कोतर्फ अनिता आफैं पनि पाठेघरको समस्याबाट ग्रसित छिन् । दुई महिनादेखि लगातार रगत बगेकाले पनि शरीर शिथिल भएको हो । यसअघि भारी बोकेर घर खर्च टार्दै आएकी उनलाई अब भने बिहान–बेलुकाको छाक टार्न पनि हम्मेहम्मे पर्न थालेको छ । भन्छिन्,‘जसोतसो भारी बोकेर घर चलाइरहेको थिएँ,अब त्यो पनि नसक्ने भएँ ।’ पाठेघरमा समस्या आएको दुई महिना बितिसक्दा पनि राम्रोसँग उपचार गर्ने अवसर पाएकी छैनन् । सबैभन्दा ठूलो कुरो उनीसँग पैसो नै छैन ।
छोरीको स्कुलको मासिक शुल्क तिर्न नसकेपछि स्कूलले धेरै वटा पत्र पठाएको बताउँछिन् । वडाध्यक्षले परियारको छोरीसँग शुल्क नलिन आग्रह गरे पनि स्कूलले अबदेखि सित्तैैंमा पढाउन नसक्ने व्यहोराको पत्र पठाएको छ । स्कूलको त्यस्तो पत्र पाएपछि बिरामी कुमार र उनकी श्रीमती थप तनावमा परेका छन् । छोरीको पढाइ छुट्ने चिन्तामा रोगले थलिएका श्रीमानसँगै अनिता पनि पिरोलिएकी हुन् ।
कुमारका अनुसार पछिल्लो एक वर्षदेखि कोठाभाडा पनि तिर्न सकिएको छैन । मासिक चार हजार भाडा र तीन सय रुपैयाँ बत्तीपानीको बुझाउनुपर्छ । जसअनुसार झण्डै ५० हजार रुपैयाँ ऋण भइसकेको छ । पछिल्लो दिनमा अरुले सहयोग गरेको खाद्यान्नले नेपाली परिवारले भोको पेट भरिरहेको छ । ‘कसैले एक बोरा चामल दिन्छन्,कसैले नगद सहयोग गर्छन् त्यसरी नै अहिलेसम्म छाक चलाइरहेका छौं ’, कुमारले भने ।
कुमार पीडाले रातभर सुत्न सक्दैनन् । थिलथिलो शरीरका कारण जाग्राम बस्छन् । गाउँमा भएको अलिकति जग्गा पनि उपचारको क्रममा बेचिएकाले अब उनको नाममा एक टुक्रो जग्गा पनि छैन । उपचारमा रकम अभाव भएपछि कुमार जीवन मरणको दोसाँधमा पुगेका छन् । उनले उपचारमा सहयोग गरिदिन सबैसँग अपिल गरेका छन् ।
सहयोग गर्न इच्छुकका लागि प्रभु बैंकको खाता नम्बर ०३७०१६८००७७०००१४ समेत उपलब्ध गराएका छन् । त्यसैगरी, आफ्नो फोन नम्बर पनि दिएका छन् । सहयोगी मन र हातले टेलिफोन नम्बर ९८१८०७१४४४ र ९८४०४४०५०९ मा पनि सम्पर्क गर्न सक्ने बताइएको छ ।
टिप्पणीहरू