देवीमाथि बलात्कार गरेको झुट्ठा आरोप ममाथि लगाउने ?-पूर्व डिआइजी माधव थापा
बजारमा ‘दुसाध्य जनयुध्द’ नामक पुस्तक आएको छ । दोलखाली माओवादी नेता गंगा कार्की ‘विश्व’ द्वारा लिखित उक्त पुस्तक सार्वजनिक भएलगत्तै विवादमा तानिएको हो । माओवादी नेतृ तथा पूर्व राज्यमन्त्री देवी खड्कामाथि जनयुध्दको क्रममा सुरक्षाकर्मीका हाकिमले बलात्कार गरेको भनेर आरोप लगाइएपछि अहिले पुस्तक, लेखक र नेतृ विवादमा मुछिएका छन् ।
‘मैले बलात्कार गरेको भनेर झुठो आरोप लगाउने ?,’ सशस्त्र प्रहरी बलका तत्कालीन डिआइजी माधव थापाले प्रतिप्रश्न गरे । बजारमा आउने प्रायः राजनीतिक र सुरक्षाबलसँग सम्बन्धित पुस्तक किनेर पढ्ने बानीका कारण आफूले पनि उक्त पुस्तक किनेर ल्याएको थापाले बताए । पढ्दै जाँदा १०७ पृष्ठमा पुगेपछि आफू टक्क अडिन बाध्य भएको उनको भनाइ छ ।
उक्त पृष्ठमा पूर्वराज्य मन्त्रीलाई विनाप्रमाण आफूले बलात्कार गरेको भनिएकोमा माधव आगो भएका हुन् । उनले थपे,‘त्यतिबेला म धादिङ्गको उत्तरी भेग दार्खामा थिएँ । माओवादीले दार्खाको थाना जलाएपछि मलाई त्यहाँ खटाइएको थियो । दार्खामा भएको मान्छेले दोलखामा कसरी बलात्कार गर्यो ? प्रमाण पुर्याएर भन्नुपर्यो । अरुको जिन्दगी र इज्जतमा त्यत्तिकै दागा धर्न पाइन्न’
थापाले दुई दशकअघिको कुरा सम्झिँदै भनेका छन्, ‘सायद देवी खड्कालाई ०७४ पछि एमालेको सभासद बनेका र डिआइजीबाट फुत्किएका नवराज सिलवालले चरिकोटमा पक्रेका हुन् । त्यतिबेला उपत्यका हेर्ने डिआइजी थिए अमरसिंह शाह । खड्का पक्राउ परेको थाहा पाएपछि शाहले सिलवाललाई धुलिखेल ल्याउन भनेको हुनुपर्छ । अनि डिएसपी ज्ञानोदराज बैद्य र इन्सपेक्टर केशव रानाभाटलाई अनुसन्धानको निम्ति धुलिखेल पठाइएको हो जस्तो लाग्छ ।’
“दार्खामा भएको मान्छेले दोलखामा कसरी बलात्कार गर्यो ? प्रमाण पुर्याएर भन्नुपर्यो । अरुको जिन्दगी र इज्जतमा त्यत्तिकै दागा धर्न पाइन्न’
खड्कालाई भोलिपल्टै चरिकोटबाट धुलिखेल पुर्याइयो । तर मुख र अनुहारमा कालोपट्टी बाँधिएकी उनले केही पनि नबोलेपछि अनुसन्धान अधिकृतहरु हायलकायल भए । यता डिएसपी वैद्य र माधव थापा कलेजमा सँगै पढेका दोस्त हुन् । खड्काले एक शव्द नबोलेपछि, ‘यसलाई माधव थापालेजस्तै कठबाँसले नहानी नहुने रहेछ,’ भनिएको माधवको ठहर छ । सम्भवतः त्यहि वाक्य उनको कानमा पर्यो र पछि किताब लेख्ने बेलामा गलत तरिकाले प्रस्तुत गरियो ।
पुस्तकमा थापासँगै भुजेल थरका असईले पनि बलात्कार गरेको भनिएको छ । तर थापाले आफूले भुजेललाई नचिनेको बताए । भुजेल र थापाले हनुमान ढोकामा हुँदा बलात्कार गरेको भनिएको छ । उक्त आरोपको खण्डन गर्दै थापाले भने, ‘मेरो कहिल्यै हनुमान ढोकामा पदस्थापन भएन । नगर प्रहरीमा २२ वर्ष र धादिङमा १९ महिना बसेँ । बाँकी सबै सशस्त्रमा हो । कुन आधारमा त्यस्तो लेखियो ? अचम्म मान्दैछु ।’
पुस्तक जथाभावीको पनि पराकाष्ठाले भरिएको उनको बुझाइ छ । उनले उल्टै जनआस्था प्रतिनिधिसँग सोधे, ‘मैले कहाँ उजुरी गरुँ ? नभएको कुरा लेख्न पाइन्छ ? ’
त्यो बेलाको दुःख सम्झँदै थापाले लामो फेहरिस्त सुनाएका छन् । दिनरात ड्युटीमा खटिइयो । सरकारले ड्युटीमा खटाउँदा कसैलाई पक्रिनु,थुन्नु र लाठी प्रहार गर्नु सामान्य प्रक्रिया रहेको उनको भनाइ छ । ‘त्यो सबै पदीय कर्तव्य हो,’ डिआइजी माधवले भने ।
दुःखको उदाहरणमा उनले सम्झिए, ‘बिहा गर्दा जम्मा डेढ घण्टाभन्दा छुट्टी पाइएन । जन्ती जाँदा पनि हतार हतार । छोरो जन्मिँदा छुट्टी नपाएको मैले मुलुकलाई कति योगदान गरेको छु भन्ने हेक्का राखिदिनुपर्यो । म कहिल्यै चरिकोट गएको छैन,त्यसैले ती सबै हावा कुरा हुन् ।’
देवी खड्कालाई शंका भए भेटेर आफ्नो अनुहार चिनाउन आफू तयार रहेको माधवले बताए । वास्तविकता प्रष्ट पार्न आफू सदैव तयार रहेकाले दोषी पत्ता लगाउने काममा आवश्यक र सक्दो सहयोग गर्ने उनले बताए । ‘तर जे पायो त्यहि भन्न भएन । संवेदनशील विषयमा सबैजना संवेदनशील हुनुपर्यो,’ थापाले आक्रोश पोखे ।
टिप्पणीहरू