राजेन्द्र लिङदेनको दादागिरी नसहने भन्दै राप्रपाका चार नेताले पार्टी छाडे

राजेन्द्र लिङदेनको दादागिरी नसहने भन्दै राप्रपाका चार नेताले पार्टी छाडे

पूर्वपञ्चहरुको पार्टी राप्रपाका उपल्लो तहका चार नेताले पार्टी छाडेका छन् । अध्यक्ष राजेन्द्र लिङदेन निरंकुश र सर्वसत्तावादी बाटोमा हिँडेको भन्दै उनीहरुले आज संयुक्त विज्ञप्ति निकालेर साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरूमा पूर्वमन्त्रीसमेत रहेका दिलनाथ गिरी, श्याम तिमिल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारी छन् । उनीहरुले पार्टीमा आन्तरिक प्रजातन्त्रको चीरहरण भएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर बस्न सक्ने अवस्था नभएपछि पार्टी छाड्न बाध्य भएको उल्लेख गरेका छन् ।

‘हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निमाण गर्ने सोचका साथ अघि बढेका थियौँ । आगामी संघीय निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने, दृढ संकल्पअनुसार फराकिलो ढंगले अघि बढाउन पार्टी बाहिर छरिएर रहेका राष्ट्रवादी, प्रजातन्त्रप्रेमी व्यक्ति, समूह र पार्टीलाई एउटै धारमा खडा गरि राप्रपालाई मूलधार बनाउने सत्प्रयास थियो । त्यहिअनुरुप संवादको वातावरण बनाउन खोज्दा पार्टी नेतृत्वको अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लोस्तरको लाञ्छना लगाउँदै अपराधी झैँ करार गरि अपमानित गर्ने दुष्प्रयास भयो’, संयुक्त वक्तव्यमा भनिएको छ, ‘जुन एउटा विधि, पद्धति, र प्रणालीमा विश्वास गर्ने स्वाभिमानीको निमित्त स्वीकार्य हुनसक्ने विषय थिएन ।’

उनीहरूले मुलुकमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता बढेर गएकाले यो अभियानमा निरन्तर क्रियाशील रही रहने प्रतिबद्धता पनि जनाएका छन् ।

यसअघि नेतृत्वविरुद्ध गुटबन्दी गरेको भन्दै अध्यक्ष लिङदेनले चारै जनालाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेका थिए । तर, उक्त आरोपको खण्डन गरेका उनीहरुले वक्तव्य निकालेर स्पष्टीकरण दिन अस्वीकार गर्नुका साथै अध्यक्ष लिङदेनमाथि दर्जनौँ आरोप लगाएका थिए ।

त्यसअघि श्याम तिमिल्सिनाले हाल अभ्यासमा रहेको राप्रपाको विधान महाधिवेशनबाट पारित नभएको दाबी गर्दै खारेजीको मागसहित निर्वाचन आयोगमा लिखित उजुरी हालेका थिए । त्यसलगत्तै लिङदेनले कारवाहीस्वरूप स्पष्टीकरण सोधेपछि उनीहरुले आज पार्टी छाडेका हुन् ।

आजै राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

टिप्पणीहरू