कमरेडहरुले तलब नदिएपछि पत्रकार आन्दोलित
जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित जनता टेलिभिजनका श्रमजीवी पत्रकार आन्दोलित भएका छन् । लामो समयदेखि पारिश्रमिक नपाएपछि पत्रकारहरुले आजबाट हड्ताल थालेका हुन् ।
उनीहरुले रिपोर्टिङमा नजाने, एउटा डेस्क र एउटा भिडियो सम्पादन गर्ने कम्प्युटरबाहेक अन्य सबै कम्प्युटर सटडाउन गर्ने, पीसीआरबाट हुने लाइभ र रेकर्डिङ बन्द गर्ने निर्णय गरेका छन् ।
त्यसैगरी, बिहान ६ बजेदेखि राति ८ बजेको समाचार बुलेटिनमा कटौती गर्दै अन्य सम्पूर्ण बुलेटिनमा हेडलाइन मात्र पठाउने, शतप्रतिशत समाचार निर्माण नगर्ने बताएका छन् ।
साथै, उनीहरुले टिभीका अध्यक्षलाई तीन दिनभित्र पारिश्रमिक भुक्तानी गर्न अल्टिमेटम दिएका छन् । भुक्तानी नदिइएको खण्डमा सशक्त आन्दोलनमा जाने चेतावनी दिइएको छ ।
पारिश्रमिक नदिइएको भन्दै गत असार १४ गते टिभीमा कार्यरत पत्रकारहरुले प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका थिए । काउन्सिलले तत्काल पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिए पनि टिभीका अध्यक्षले अटेर गरेको उनीहरुको आरोप छ ।
टेलिभिजनका अध्यक्षमा डा. विजयकुमार पौडेल हुनुहुन्छ भने सम्पादक टंक पन्त रहनुभएको छ ।
टिप्पणीहरू