सभापति भेट्न सेनापति बिहानै सिंहदरबारमा
प्रधानसेनापति प्रभुराम शर्माले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्कासँग भेट गर्नुभएको छ । खड्कालाई भेट्न हिजो बिहानै सिंहदरबार पुग्नुभएका सेनापतिले एक घण्टा कुराकानी गर्नुभएको बताइएको छ । भेट संघीय संसद सचिवालयमा भएको हो ।
नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) का विषयमा छलफल गर्न प्रधानसेनापति शर्मा विकास समितिका सभापति भेट्न जानुभएको बताइएको छ ।
सर्वोच्च अदालतले हालै निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य अघि नबढाउन फैसला गरेपछि त्यससँग जोडिएको फास्ट ट्रयाकसमेत प्रभावित हुने भनिएका बेला सरोकारवालाहरुसँग निरन्तर भेटघाट र कुराकानी गरिरहेको सैनिक नेतृत्वले संसदीय समितिका सभापतिलाई भेट्नुलाई चासोका साथ हेरिएको छ ।
टिप्पणीहरू