भुक्तानी नदिएपछि दुग्ध किसान रित्तै, डेरी व्यवसायी बेपत्ता
पाँचथरमा एक डेरी व्यवसायी दुग्ध किसानको बक्यौता नतिरी फरार भएका छन् । फिदिम नगरपालिका–३, लालीखर्कमा कनकासुन्दरी डेरी उद्योग सञ्चालन गर्दै आएका जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ का महेन्द्र हमाल बेपत्ता भएका हुन् ।
लाखौं रुपैयाँ कृषक तथा व्यसायीहरुलाई भुक्तानी नदिई बुधबारदेखि उनी र उनकी श्रीमती सम्पर्कविहीन भएका हुन् । सदरमुकाम फिदिम जान हिँडेका हमाल दम्पत्ति हालसम्म सम्पर्कमा आएका छैनन् ।
डेरीमा कोही पनि नभेटिएपछि किसानले प्रहरीमा उजुरी हालेका छन् । किसानहरुबाट संकलित दूध र दुग्ध सामग्री फिदिममा बिक्री गरेपछि प्राप्त ६५ लाख लिएर उनी फरार भएको बताइन्छ । उक्त बाँकी रकम देखाउँदै उनले किसानहरुलाई लामो समयदेखि भुक्तानी रोकेका थिए ।
फिदिममा रहेको सिदिन डेरीका सञ्चालक गोपाल रिजाल लगायतले पनि प्रहरीमा उजुरी दिएका छन् । हमालले रिजालसँग थप १६ लाख लिएको बताइएको छ । उजुरी परेपछि हमाल र उनकी श्रीमतीको खोजी थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
उनले गत फागुनदेखि मात्र व्यवसाय शुरु गरेका हुन् । उनले स्थानीय डेरीको भन्दा बढी मूल्यको आश्वासन दिएर दूध संकलन गरेपछि धेरै कृषकको बक्यौता रहेको हो ।
हमालले फिदिम नगरपालिकाको वडा नम्बर २, ३, ५, ७, ८, १४, फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर १, ३, ४ का धेरै किसानसँग दूध संकलन गर्दै घ्यू र छुर्पी उत्पादन गरेका थिए । उत्पादित सामाग्री बिक्रीपछि प्राप्त रकम भने किसानलाई भुक्तानी गरेका थिएनन् ।
टिप्पणीहरू