एसपीपी र हतियारमा सहसचिवको बली

एसपीपी र हतियारमा सहसचिवको बली

रक्षा मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीलाई एकाएक रक्षा मन्त्रालयबाट धपाइएको छ । त्यहाँ पहिले राजश्व अनुसन्धान विभागमा ८ महिना रहेका डिजी प्रकाश पौडेललाई ब्यवस्थापन गरिएको छ । प्रवक्तासमेत रहेका र विध्यार्थी कालमा अखिलनिकट ज्ञवालीलाई हटाइनुको कारण केही होइन भनिए पनि पछिल्लो समय चर्चा र विवादमा आएका दुई वटा विषय मुख्य रहेको आशंका गरिन्छ ।

सरकारमा रहेको मुख्य दलका हर्ताकर्ताले पौडेललाई कतै राखेर माया गर्नुपर्ने भएकाले रक्षामा कैँची चलाइरहेको अन्दाज लगाएको छ । सहसचिव सबैतिर प्याक भएकाले ज्ञवालीलाई झिक्नै पर्ने भएपछि त्यसोे गरिएको स्रोतको दाबी छ । ‘कसैलाई झिकेर भए पनि एडजस्ट गर्नु भनेपछि रक्षा प्रवक्तासमेत रहेका ज्ञवालीलाई फालिएको हो ।’ उनलाई वामपन्थी,त्यसमा पनि एमालेनिकट भनेर काङ्ग्रेस सभापति शेरबहादुर देउवा स्वयंले सम्हालेको मन्त्रालयबाट झिकी सँघीय मामिला र सामान्य प्रशासनको अतिरिक्त समूहमा थन्क्याइएको भन्नेहरु पनि छन् ।

प्रधानमन्त्री तथा रक्षामन्त्रीले समेत ज्ञवालीलाई त्यहाँ राख्न ‘कम्फर्टेबल फिल’ नगरेपछि सरुवा गरिएको बताइन्छ । पौडेल पहिले मागेरै गए पनि आठ महिना मात्र राजश्व अनुसन्धान विभागमा बसे । पहिले खासै नखुलेका उनी नयाँ सरकार बनेपछि सत्तापक्षको पनि मुख्य दलसँग निकट देखिएका छन् । ‘एमाले झिकेर काँग्रेस राखियो, खासै अचम्म केही होइन,’ अहिले अन्यत्र पोष्टिङ नगरी सामान्य प्रशासन मन्त्रालयमा राखिएकामध्ये एकजना सहसचिवले भने ।

अर्को स्रोतले ज्ञवालीको सरुवालाई एसपीपी र हतियार खरिदको विषयसँग पनि जोडेर हेरेको छ । एसपीपी र सेनाको हतियार खरिदको विषय बाहिर आएकाले एमाले निकट भनेर भनिएका ज्ञवालीलाई झिक्न सरकारले निहुँ पाएको हो ।

दुई जना सहसचिवको अघिल्लो साता सरुवा भएपछि अब वरिष्ठ सहसचिवहरुलाई प्रदेश पठाउने क्रममा मात्र धेरै ठाउँमा खाली हुने बुझिएको छ । उनी सहसचिव भएको सात वर्ष भइसकेकाले वरिष्ठको सूचीमा पर्न लागेका हुन् ।

सहसचिवहरुको सरुवामा विशेषगरी रक्षा मन्त्रालय,सम्पत्ति शुध्दिकरण, राजश्व अनुसन्धानलगायतका निकायमा हुने सरुवामा सोझै माथिबाट लिस्ट तयार हुने गरेको छ । स्रोतले भन्यो, ‘त्यस्तो सरुवाको सूची मुख्य सचिव हुँदै तल पठाइन्छ ।’
यसैबीच पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले भोलि साउन ११ गतेदेखि अनिवार्य अवकाश पाउँदै छन् । त्यसपछि त्यहाँ जानको निम्ति सचिवहरुबीच कुदाकुद छ । अहिले त्यहाँ जान सूर्य गौतम र रामप्रसाद थपलिया अरुभन्दा अघि देखिएका छन् ।

गौतम उनै सचिव हुन् जसले श्रीमतीको लागि प्रश्नपत्र लिक गरेका थिए । पहिले महालेखा नियन्त्रकको कार्यालयमा बसेका हुन् । थपलिया भूमि व्यवस्था मन्त्रालयमा छन् । तर गौतम र थपलिया दुबैलाई काँग्रेसी कर्मचारीहरुले एमाले निकट भनेर बिल्ला भिराइदिएका छन् ।

टिप्पणीहरू