वामदेव गौतमलाई धानको बालाले छाडेन

वामदेव गौतमलाई धानको बालाले छाडेन

गत असार १४ गते नेता वामदेव गौतमको संयोजकत्वमा घोषणा गरिएको नेकपा ‘एकता राष्ट्रिय अभियान’ दल निर्वाचन आयोगमा दर्ता भएको छ । दल दर्ता सनाखतको निम्ति केन्द्रीय सदस्यहरू हिजो आयोग पुगेका छन् ।

दलको नाम नेकपा (एकता राष्ट्रिय अभियान) र चुनाव चिन्ह ‘चन्द्राकारको गोलाभित्र झुलेको ’धानको बाला’ राखिएको छ । पार्टीले दल दर्ताको निवेदनमा गुलाबको बोट चुनाव चिन्ह मागेको थियो । तर आयोगमा उक्त चिन्ह अर्कै दलले प्राप्त गरिसकेका कारण ‘धानको बाला’ रोजिएको बताइएको छ ।

दल दर्ता प्रक्रिया सुरु गरेर गौतम नेपालका वामपन्थी दलहरूलाई एकीकृत गर्ने अभियानमा लाग्नुभएको छ । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूसँग पटक पटक भेटवार्ता गरिसक्नु भएको छ ।

गौतम गृहमन्त्री हुँदा नेपाल प्रहरीसँग सम्बन्धित समाचारहरुमा जोडिनुभएको थियो । प्रहरी वरिष्ठ अधिकृतहरुको फुलीमा पनि धानको बाला हुन्छ । उहाँ एमाले र नेकपामा छँदा पनि किसान संघको अध्यक्ष हुनुहुन्थ्यो । किसानसँग धानको बालाको सम्बन्ध अन्योन्याश्रित नै हुन्छ । अहिले आफैंले खोलेको दलको चुनाव चिन्ह पनि धानको बाला भएको छ ।

टिप्पणीहरू