मुक्तिनाथमा यार्तुङको तयारी तीब्र
– अमृत बास्कुने
हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथमा हुने यार्तुङ मेलाको तयारी थालिएको छ । पछिल्लो दुई वर्ष कोरोना महामारीका कारण रोकिएको यार्तुङ मेला यो वर्ष साउन २३ देखि २७ गतेसम्म रानिपौवामा आयोजना गर्न लागिएको हो ।
हरेक वर्षको जनैपूर्णिमामा स्थानीय संस्कृतिसँग जोडिएको यार्तुङबारे विशेष कार्यक्रम हुने गर्दछ । त्यसैले जनैपूर्णिमाको दिनमा सकिने गरी विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर यस पटक पुराङ जनप्रिय युथ कलबले यार्तुङ मनाउन लागेको हो ।
बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडा सदस्य पेम्बा छिरिङ गुरुङका अनुसार साउन २३ गतेदेखि खेलकुद र साँस्कृतिक कार्यक्रम शुरु हुने छ । २७ गते जनैपूर्णिमाको दिनमा विशेष समारोहका साथ समापन हुनेछ । सो अवसरमा फुटबल, अर्चरी (तारो हान्ने), लाठो तान्ने, घोडा दौड प्रतियोगिता आयोजना गरिने बताइएको छ । साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका लागि राष्ट्रियस्तरका कलाकार तथा डिजे साँझको समेत व्यवस्था गरिएको आयोजक क्लबले जनाएको छ ।
सबै प्रतियोगिता खुल्ला रुपमा सञ्चालन हुने बताइएको छ । पछिल्ला दुई वर्ष नेपाल सरकारले २५ जनाभन्दा बढी मानिस जम्मा नहुन आदेश दिएकाले आफूहरुले यार्तुङ आयोजना गर्न नसकेको गुरुङले बताउनुभयो ।
यार्तुङ मेला कहिलेदेखि शुरु भयो भन्ने यकिन छैन । तर पनि परापूर्वकालदेखिनै मनाउँदै आइएको स्थानीयको भनाइ छ । मुक्तिनाथ क्षेत्रका झारकोट, पुराङ, खिङ्गा, झोङ, छोङ्गोर, पुटागाउँका गाउँलेले मनाउँदै आएको यार्तुङमध्ये रानीपौवामा आयोजना गरिने यार्तुङलाई त्यस क्षेत्रको विशेष पर्वको रुपमा लिइन्छ ।
यार्तुङ मेला भर्न देश विदेशबाट पर्यटकहरु आउने गरेको जनप्रिय युथ कलबका अध्यक्ष उर्गेन गुरुङको भनाइ छ । बर्खायामको खेतीपाती सकेर यार्तुङअघि गाउँका सबै स्थानीयले अन्नबाली थन्क्याइसकेका हुन्छन् । यार्तुङ सकिएलगत्तै बर्खा सकिएर हिउँदयामको झल्को मिल्न थाल्छ । १६ औं शताब्दीबाट शुरु भएको बताइए पनि यो मेला निकै पुरानोमध्येको एक संस्कार रहेको गुरुङको भनाइ छ ।
मुस्ताङका स्थानीय वर्षायाम सकिएपछि हिउँदको चिसो छल्न बेँसी झर्ने परम्परा छ । यही परम्परासँगै यार्तुङ पनि जोडिएको स्थानीयको भनाइ छ । जाडो छल्न बेँसी झर्नु पहिले तीन दिनसम्म रमाइलो गर्ने समय पनि हो यार्तुङ । यार अनि तुङ शब्दको समिश्रण रहेको छ यार्तुङमा । मुस्ताङ क्षेत्रमा यार भनेको बर्खा र तुङको अर्थ बर्खाको बिदाई हो ।
टिप्पणीहरू