फरेन्सिक ल्याबको रिपोर्टबारे संसदीय समितिमा कुरा बाझियो

फरेन्सिक ल्याबको रिपोर्टबारे संसदीय समितिमा कुरा बाझियो

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिमा प्रहरीको डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालाबाट प्राप्त रिपोर्ट र भिडियो फुटेजबारे सदस्यहरुको फरक–फरक धारणा आएको छ ।

हिजो प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त प्रतिवेदनसहित हार्डडिस्क र उपकरणहरु आज बिहान खोलेर हेरे पनि प्राविधिक विषय भएकाले समितिका सदस्यहरु अलमलमा परेका हुन् । त्यसपछि प्रहरीको विशेषज्ञको टोली झिकाएर साँझ छलफल गर्ने भनिएका बेला समितिमा रहेका सत्ता र प्रतिपक्षका सांसदहरुको फरक धारणा आएको हो ।

बेलुकी सिंहदरबारमा जुट्ने गरी उठेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेतासमेत रहेका समिति सदस्य लक्ष्मणलाल कर्णले बिहान बसेको बैठकले प्रहरीले पठाएको शिलसहितको प्रतिवेदन खोलिएको तर छलफल नभएको बताए । उनले आजै दिउँसो ४ बजे बस्ने दोस्रो बैठकमा विज्ञहरूलाई बोलाएर छलफल गरिने जानकारी दिए ।

समितिका अर्का सदस्य एमाले नेता खगराज अधिकारीले भने प्रहरीको फरेन्सिक ल्याबले पठाएको प्रतिवेदन अधुरो रहेको बताए । यद्यपि उनले प्रतिवेदनबारे थप खुलाउन चाहेनन् ।

एकीकृत समाजवादीबाट समिति सदस्य रहेकी सरलाकुमारी यादवले प्रहरीको प्रतिवेदन प्राप्त भएको तर आफूहरुले फुटेज नहेरेको प्रतिक्रिया दिइन् । समितिको बिहानको बैठकमा सिसीटिभी फुटेज खोलेर हेर्दा स्पष्ट नदेखिएको भन्दै सञ्चारमाध्यममा आएका समाचार गलत भएको उनको भनाइ छ ।

पूर्वअर्थमन्त्री शर्मामाथि बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको र त्यस दिनको सिसिटिभी फुटेज मेटाएको आरोप लागेको छ । असार २२ गते त्यसबारे छानबिन गर्न ११ सदस्यीय समिति गठनलगत्तै शर्माले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

समितिले केही दिन अघिमात्र अर्थ मन्त्रालयसको सीसीटिभी फुटेज रिकभर गर्नको लागि हार्डडिस्क प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो । सोको प्रतिवेदन हिजोमात्र समितिले बुझेको हो ।

टिप्पणीहरू