भित्र रेडक्रसको कार्यक्रम, बाहिर एमालेको नाराबाजी
नेपाल रेडक्रस सोसाइटीको राष्ट्रिय भेला आयोजना गरिएको स्थानमा आन्दोलन भएको छ । नयाँ बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्याङ्केटबाहिर नाराबाजी र होहल्ला भएको हो ।
आज रेडक्रसले ‘वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्र’ विषयमा छलफल गर्न भेला आयोजना गरेको जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हुनुहुन्छ । रेडक्रसका अध्यक्ष भोलानाथ रुपाखेतीले कार्यक्रमलाई सम्बोधन गरिरहँदा असन्तुष्ट पक्षले गेटबाहिर नाराबाजी गरेको हो ।
पूर्वअध्यक्ष नेत्र तिम्सिनाको टोलीले प्लेकार्ड देखाएर विरोध गरेका हुन् । उनीहरुले अदालतको आदेश पालना गर, विधिको शासन पालना गर, रेडक्रसभित्र विधिको शासन लागु गर, रेडक्रस जिन्दावाद, रेडक्रसमा प्रहरी हस्तक्षेप बन्द गरलगायत नारा लगाइएको छ ।
मानवीय संस्थामा दानवीय कार्य बन्द गर, रेडक्रसमा भएको भ्रष्टाचार बन्द गर, रेडक्रसलाई भ्रष्ट व्यक्तिहरुको चंगुलबाट मुक्त गर भन्दै उनीहरुले चर्को विरोध गरेका छन् । चर्का नाराबाजी भएपछि भेलास्थलमा प्रहरी परिचालन गरिएको हो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले २०७७ साउन १२ गते तिम्सिनाको नेतृत्वमा ३३ सदस्यीय समिति गठन गरेको थियो । तर, उनले कुनै काम नगरी आफ्नो कार्यकाल सकाएको अर्को पक्षको आरोप छ । त्यसयता उनको टोलीले लगातार आन्दोलन गर्दै आएको छ ।
गत असार २१ गते उनीहरुले रेडक्रसको केन्द्रीय कार्यालय तोडफोड गरेको अध्यक्ष रुपाखेती निकटस्थहरुले बताएका छन् ।
टिप्पणीहरू