कुरो विदेशी मुद्रा जोगाउने, माैका छाेपेर सबैलाई विदेश उडाउने
मुलुकको विदेशी मुद्रा सञ्चितीमा चाप परेको छ । अत्यावश्यक बाहेक अन्य विलासिताका सामान आयातमा रोक लगाइएको छ । विदेश जाने नेपालीलाई पासपोर्ट वापतको सटही सुविधालाई घटाएर दुई सय अमेरिकी डलरमा झारिएको छ । अघिल्लो वर्षसम्म यस्तो व्यवस्था २५ सय अमेरिकी डलर थियो ।
तर, सरकारले यसबीचमा राजनीतिक नेतृत्व र कर्मचारीलाई विदेश पठाउने क्रम रोकेको छैन । अर्ध सरकारी र निजी क्षेत्रका मानिस पनि विदेश जाने क्रम ह्वात्तै बढेको छ । विमानको टिकट महँगो भएको छ । विदेशी विमान कम्पनीले यहाँबाट खरिद गरिएका टिकटको रकमसमेत डलरमा लैजाने भएकाले उक्त सञ्चितिमा थप चाप पर्ने निश्चित छ ।
यसैबीच हिजो बसेको क्याबिनेटले एक मन्त्री र तीन सचिव र एक जना सहसचिवलाई विदेश भ्रमणको स्वीकृति दिएको छ । साउन २६ गतेदेखि भदौ १ सम्म फिनल्याण्डमा हुने उच्चस्तरीय भ्रमणमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृति दिइएको छ ।
अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा हुने सम्मेलनमा कानून, न्याय तथा संसदीय मन्त्रालयका सचिव उदयराज सापकोटा र सहसचिव कौशलचन्द्र सुवेदीलाई पठाउने निर्णय गरिएको छ । त्यसैगरी तुर्कमेनिस्तानको आशागावतमा हुने सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका गोपालप्रसाद सिग्देललाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ ।
क्याबिनेटले स्वीजरल्याण्ड सरकारले अनुदानस्वरुप दिन लागेको ९५ करोड र खानेपानी तथा सरसफाई आयोजनाका लागि यूरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ स्वीकार गर्ने भएको छ ।
बैठकले गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा परियोजना पहिलो चरण कार्यान्वयनका लागि ऋण स्वीकृत गर्ने निर्णय गरेको छ भने, नेपाली मूलका पोलिस नागरिक डाक्टर बोधराज सुवेदीलाई पोल्याण्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकी नेपालको अवैतनिक राजदूत नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डाक्टर प्रकाशराज रेग्मी र नविन चन्दलाई र राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गरेको छ ।
आयात व्यवस्थापन तथा न्यूनीकरण गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरिएको छ ।

टिप्पणीहरू