एसइइको नतिजा सार्वजनिक, जीपीए ४ सम्म ल्याउने साढे ९ हजार जना
माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको भर्खरै बसेको बैठकले यस वर्षको एसइइको नतिजा सार्वजनिक गरेको हो । जीपीए ३.६ देखि ४ ल्याउने परीक्षार्थीको संख्या नौ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ ।
परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका हुन् । तीमध्ये दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र हुन् ।
कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै एसईईको नतिजा सार्वजनिक भएको थियो । तर, यस पटक परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
एसइइको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट हेर्न सकिन्छ । यस्तै, नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा हेर्न सकिने बोर्डले बताएको छ ।
टिप्पणीहरू