‘परराष्ट्रमन्त्रीले सांसदको आँखामा छारो हाल्नुभयो’
परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने व्यहोराको पत्र अमेरिकालाई पठाइसकेको जानकारी दिनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा उहाँले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई गत सोमबार पठाइसकिएको जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभयो,‘साउन ९ गते तदनुसार २५ जुलाई २०२२ दिन कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाइएको जानकारी गराउन चाहन्छु ।’
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राष्ट्रहितविरीत कुनै पनि सन्धि सम्झौता नगर्ने र नगरेको उहाँले दाबी गर्दै उक्त जानकारी गराउनुभएको हो । सरकारको पछिल्लो निर्णयबमोजिम परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागी नहुने व्यहोराको पत्र अमेरिकालाई नपठाएकोमा चर्को आलोचना भइरहेको थियो । सोही सन्दर्भमा आज मन्त्री खड्काले उक्त जानकारी गराउनुभएको हो ।
तर, अमेरिकालाई पठाइएको पत्र सरकारले देखाउनुपर्ने माओवादी सांसदहरुले बताएका छन् । जनआस्थासँगको कुराकानीमा एक जना सांसदले भने, ‘क्याबिनेटको माइन्युटमा पत्र पठाउने व्यहोरा नलेखिएको कुरो बाहिर आएको छ । गत असार ६ गतेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा नेपाल अघि नबढ्ने व्यहोरा लेखिएको तर सोबारे अमेरिकालाई जानकारी गराउने भनेर नलेखिएकाले सरकारले छलछामको भाषा प्रयोग गरेको हो । आज परराष्ट्रमन्त्रीले हाम्रो आँखामा छारो हालेको अनुमान गरेका छौं ।’
टिप्पणीहरू