प्रधानमन्त्रीका निम्ति प्रचण्डको अन्तिम प्रयत्न
माओवादी केन्द्रका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिमागमा सम्भवतः अन्तिम ‘कुर्सी संघर्ष’ चलिरहेको छ । उनी फेरि सिंहदरबार छिर्न प्रयत्नरत छन् । देशभित्रका वामपन्थी र देश बाहिरका हिन्दूवादीसँग ‘लबिङ’ जारी छ । दिल्लीबाट फर्केलगत्तै प्रचण्डले प्रधानमन्त्री बन्ने तीव्र चाहना प्रकट गरेका छन् । उनी सिंहदरबार घटकका सबैभन्दा प्रभावशाली पात्र हुन् । सत्ता राजनीतिका चतुर खेलाडी प्रचण्ड भारत भ्रमणपछि समाजवादी केन्द्र निर्माणको नयाँ अभियानमा लागेको नेता वर्षमान पुन बताउँछन् । प्रचण्ड दैनिकजसो बालुवाटारदेखि कोटेश्वरसम्म दौडिरहेका छन् । सन्दर्भ उही नजिकिँदै गरेको संघीय संसद्को निर्वाचन हो । त्यसैले उनी अंकगणितमा व्यस्त छन् । निर्वाचनपछि आफ्नो पार्टीलाई प्रदेशदेखि संघसम्म सरकार बनाउन कसैले रोक्न नसक्ने उनको जिकिर छ । प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका पूर्वनेता डा. बाबुराम भट्टराईदेखि पार्टीविहीन वामदेव गौतमसम्मसँग वामपन्थी एकताको चर्चा गरिरहेका छन् । यी पात्रसामु दिल्लीको नयाँ सन्देश सुनाउँछन् । बेलाबेला फकाउँछन् । नयाँ कार्ड फ्याँक्छन् । तर्साउँछन् अनि वाम गठबन्धनबारे मीठो सपना बाँड्छन् । प्रचण्डले कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग शक्ति सन्तुलनका लागि चुनाव केन्द्रित नयाँ चलखेल गरिरहेको एकीकृत समाजवादीका एक पदाधिकारी बताउँछन् । आउँदो निर्वाचनलगत्तै आलोपालो प्रधानमन्त्रीका लागि ‘छरिएका वाम, एकैठाम’को अभियान शुरु भएको छ ।
अर्कोतर्फ वाम–लोकतान्त्रिक गठबन्धनको पनि उत्तिकै आवश्यकता देख्छन्, प्रचण्ड । विप्लव समूहदेखि माधवकुमार नेपालसम्मलाई वामपन्थी एकताको योजना सुनाइरहेका छन् । आफ्नै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठदेखि शीर्ष नेता वर्षमान पुनसम्म ‘कम्युनिष्ट टुक्रा’ खोज्दै हिँडिरहेका छन् । उनीहरू अध्यक्ष प्रचण्डका लागि फेरि कुर्सीको भारी बोकेर वाम चुनावी गठबन्धनको संवादमा जुटेका छन् । संकट सबैतिर छ । प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री ताकिरहेका प्रचण्ड, नयाँ घरजम गरेका माधवकुमार नेपाल, राष्ट्रपतिका आकांक्षी जे.एन खनाल–रामचन्द्र पौडेल, सडक संघर्षमा पुगेका डा. भट्टराई र विद्रोही विप्लवलगायत शीर्ष नेताहरू राजनीतिक दौडमा छन् । झन् अप्ठेरोमा छन्, एमाले तोडेर नयाँ पार्टी जन्माएका पूर्वप्रधानमन्त्री नेपाल ।
अक्करै–अक्करको यात्रामा हिँडिरहेका नेपाल सत्ताछेउमा उभिएर प्रचण्डसँगै वाम गठबन्धन रोज्ने दाउमा छन् । संसारले चिनिरहेको ‘प्रचण्ड’ एउटा नाम मात्रै होइन । यो नेपाली सत्ता राजनीतिको ‘ब्राण्ड’ पनि हो ।
३१ असारदेखि १ साउनसम्म प्रचण्ड स्वकीय सचिवसमेत रहेकी कान्छी छोरी गंगा दाहाल र रमेश मल्लसँगै नयाँ दिल्लीमा थिए । घरमा सिकिस्त बिरामी श्रीमती सीता दाहाललाई एक्लै छाडेर दिल्ली हान्निनुको एउटै कारण थियो– भारतीय सत्तारुढ दलका नेतासँग भेटवार्ताको नाममा राजकीय शक्ति प्राप्तिका लागि छलफल गर्नु । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ स्वदेश फर्किएलगत्तै उनी दिल्ली हिँडेका हुन् । अन्तर–देशीय पार्टी कूटनीति हेर्दै आएका लिउ नेपाली वामपन्थीको पछिल्लो रवैयाबारे पूर्ण जानकार छन् । भलै खुलेर बोलेनन् । तर अमेरिकी–भारतीय शक्तिबाट अलग्गै ओली–प्रचण्ड–नेपाललाई एउटै गोलाभित्र राख्न–देख्न चाहन्छन् । लिउ र प्रचण्डको भेटवार्तापछि स्वभाविक रूपमा भारतीय दूतावासभित्र गम्भीर चिन्ता प्रकट भएको छ ।
उता, प्रधानमन्त्रीपत्नी डा. आरजु राणा नयाँदिल्लीमै ढुक्कै अड्डा जमाएर बसिरहेकी छन् ।
भारत भ्रमणका क्रममा उनले प्रधानमन्त्री मोदीलाई नै भेटेर कांग्रेससँग आलोपालो प्रधानमन्त्रीको कुरा गर्ने अपेक्षा थियो । तर, तत्कालै प्रचण्डलाई विश्वास गर्ने पक्षमा देखिएनन्, मोदी । फर्केलगत्तै प्रचण्डले विमानस्थलमा भने, ‘मोदीले मसँग किन भेट गरेनन् मैले बुझेको छैन । मोदीसँग भेट नभए पनि कुनै टेन्सन छैन । भारत भ्रमण अत्यन्त उत्साहवद्र्धक र सफल भएको छ ।’
अध्यक्ष प्रचण्ड विचित्र भावमा प्रकट हुँदा छेउतिरका नारायणकाजी र वर्षमान अवाक देखिन्थे । बाहिर जे भने पनि फेरि सत्तामा फर्कने उनको ‘प्रचण्ड’ आकांक्षा छ । ‘एक तीर, दुई शिकार’ त्यसै पनि प्रचण्डको परिचित स्वभाव हो । उनी देउवा अर्थात् कांग्रेस र ओली अर्थात् एमालेसँग चुनावी गठबन्धनका लागि खुला छन् । अघिल्लोपटक केपी ओलीसँग उधारो सम्झौता गरेर अलपत्र परेका प्रचण्ड यसपटक नगदकै लाइनमा छन् । ओली ‘बा’को चतुर खेलमा भासिएका उनी यसपटक उनीभन्दा झन् चतुर बन्न चाहन्छन् । यी सबै प्रचण्ड–दृश्य मसिनो गरी उनै ओलीले बालकोटको बार्दलीबाट चिया पिउँदै नियालिरहेका छन् । तर, प्रचण्ड कांग्रेससँगको सहकार्यमा आजसम्म अपमानित मात्रै भइरहेका छन् । कांग्रेसभित्रै चुनावी गठबन्धनविरोधी स्वर बढ्दै गएको छ । वाम–लोकतान्त्रिक गठबन्धन भए पनि माओवादीलाई आलोपालो प्रधानमन्त्री पद दिन नमिल्ने दवाव देखिन थालेपछि उनी झन् तर्किएका छन् । कांग्रेसलाई राम्रोसित पत्तो छ– प्रचण्ड एक्लै निर्वाचनमा जान सक्दैनन् । अर्कोतर्फ वाम गठबन्धनको कुरा उठाएर एमालेसँग बार्गेनिङ पनि गरिरहेका छन् ।
– जीवन डाँगी
टिप्पणीहरू