अर्थमा जनार्दन फर्किने भएपछि सचिव सरुवा

अर्थमा जनार्दन फर्किने भएपछि सचिव सरुवा

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग हित्तचित्त नमिलेको भनिएका अर्थसचिव मधु मरासिनी शर्मा फेरि अर्थ मन्त्रालयमा फर्किने निश्चित भएसँगै पोखरा हान्निएका छन् । मन्त्रीको स्वागत गर्न मन्त्रालयको गेटमा पुष्पगुच्छा लिएर उभिनुपर्ने दिन उनी आज पोखरा गएका हुन् ।

हिजो साँझसम्म मन्त्रालयमै रहेका मरासिनी आज पोखरा पुगेको खबरले मन्त्रालयका कर्मचारीहरु नै चकित भएका छन् । यसले मन्त्री र सचिवबीच टसल रहेको विगतको आशंकालाई बल पुर्याएको त्यहाँका कर्मचारीहरु बताउँछन् ।

मन्त्रालयका एक सहसचिवले जनआस्थासँग भने, ‘हिजो बेलुका अफिस छुटेपछि उहाँलाई नमस्कार गरेर बिदाबारी भएर घर फर्किएको हो । आज बिहानै मन्त्रालयको तीन महिने प्रगति विवरण बुझाउन उहाँको कार्यकक्षमा जाँदा बिदामा बस्नुभएको र पोखरा जानुभएको भन्ने थाहा पाइयो ।’अर्थमन्त्री शर्मासँगै मरासिनीमाथि बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई सहभागी गराएर करको दर हेरफेर गरेको आरोप लागेको थियो । बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते राती मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर अर्थमन्त्री र सचिवले करका दर हेरफेर गराएको भन्दै एमाले लगायतका दलले त्यसदिनको सिसिटिभी फुटेज देखाउन माग गर्दै आएका थिए ।

विरोध चर्किएपछि शर्माले पदबाट राजीनामा दिए । तर, त्यसअघि नै सिसिटिभी फुटेज मेटाएको आरोप लागेको मरासिनी अनिश्चितकालीन छुट्टी बस्ने निर्णय गरेर हिँडेको भोलिपल्टै मन्त्रालय फर्किए । आफूविरुद्ध लागेको आरोपबाट जोगिन उनले बिदा बस्ने निर्णय गरेको र मन्त्रीले नै राजीनामा दिएपछि ‘राहत’ महसुर गरेर काममा फर्किएको त्यतिबेलै अनुमान गरिएको थियो ।

यता, राष्ट्रपति कार्यालयले अर्थमन्त्री शर्माको शपथ खुवाउने तयारी गरेको छ । साँझ ५ बजे शपथ खुवाइने गरी तयारी गरिरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अर्थ सचिव मरासिनी मन्त्रालयमा अनुपस्थित भएसँगै मन्त्री शर्मालाई राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्नेगरी मन्त्रालयले तयारी गरेको बताइन्छ । २६ दिनअघि राजीनामा दिएर पुन: शर्मा अर्थमन्त्रीकै रुपमा मन्त्रालयमा फर्कने भएसँगै अर्थसचिव मरासिनीका अलवा चार जना सहसचिवले सरुवा लिने सम्भावना बढेको अर्थ स्रोतको भनाई छ ।

टिप्पणीहरू