मोहनविक्रममाथि संशोधनवादीको आरोप लगाउँदै कार्यकर्तालाई कित्ताकाट गर्न आह्वान

मोहनविक्रममाथि संशोधनवादीको आरोप लगाउँदै कार्यकर्तालाई कित्ताकाट गर्न आह्वान

टुटफुट र विभाजनको लामो शृंखला व्यहोर्दै आएको मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मा फेरि अर्को विभाजन देखिएको छ । मसालको वर्तमान नेतृत्व दक्षिणपन्थी बाटोमा हिँडेको आरोप लगाउँदै असन्तुष्ट समूहका नेता सन्तबहादुर नेपालीले विशेष महाधिवेशन बोलाएसँगै पार्टी विभाजनमा पुगेको हो ।

यसअघि नै महामन्त्री सिंहसँग बैचारिक,सांगठनिक र कार्यशैलीगत मतभेद राख्दै आएका नेपालीले आफ्नै नेतृत्वमा ‘नेकपा मसाल समन्वय समिति’ गठन गरेका थिए । त्यसैलाई वैधानिकता दिन विशेष महाधिवेशन आह्वान गरेका उनले मझधारमा रहेका कार्यकर्तालाई बैचारिकरुपले स्पष्ट हुन र क्रान्तिकारी धारमा सहभागी हुन अपील पनि गरेका छन् ।

“यो या त्यो पक्षमा उभिनु अनिवार्य छ । त्यसैले अहिलेसम्म दोहोरो सम्बन्धमा रहनुभएका कमरेडहरुलाई एकातर्फ आवद्ध हुन अनुरोध गरेका छौं ।”

संयोजक नेपालीले आज निकालेको दुई पन्ने विज्ञप्तिमा भनिएको छ, ‘दक्षिणपन्थी मसालमा यो या त्यो कारणले संगठनात्मकरुपमा बस्नुभएका केन्द्रदेखि सेल समितिका सम्पूर्ण कमरेडहरुलाई आफ्नो स्थिति छिट्टै स्पष्ट गर्दै विशेष महाधिवेशनमा सामेल हुन र क्रान्तिकारी भूमिकालाई अगाडि बढाउन अपील गर्दछौँ ।’

महामन्त्री सिंहले कार्यकर्ता र जनतालाई अलमलमा पारेर संशोधनवाद हावी गराएको उनले आरोप लगाएका छन् । अब त्यो भ्रमबाट मुक्त हुँदै पुँजीवाद रोज्ने कि समाजवाद ? भन्ने प्रश्नमा इमान्दार कार्यकर्ताहरुले एउटा पक्ष रोज्न पर्ने अवस्था आइसकेको भन्दै नेपालीले दक्षिणपन्थी संशोधनवादमा फसेको मसालबाट बिद्रोह गरेर आफू नेतृत्वको पार्टीमा गोलबद्द हुनेमा विश्वाससमेत लिएका छन् ।

यो या त्यो पक्षमा उभिनु अनिवार्य छ । त्यसैले अहिलेसम्म दोहोरो सम्बन्धमा रहनुभएका कमरेडहरुलाई एकातर्फ आवद्ध हुन अनुरोध गरेका छौं । धेरै कमरेडहरुले खुलेर दक्षिणपन्थी मसाल परित्याग गरिरहनु भएको छ । हामी उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ र उहाँहरुको बिचारलाई उच्च सम्मान गर्छौँ ।’

टिप्पणीहरू