विप्लवहरुको पक्षमा एमाले

विप्लवहरुको पक्षमा एमाले

प्रमुख प्रतिपक्ष नेकपा एमालेले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाइएकोमा आपत्ति जनाएको छ । आज प्रतिनिधिसभाको बैठकमा एमाले सांसद विशाल भट्टराईले शान्ति प्रक्रियामा आएका दललाई सरकारले कारबाही गरेर पुनः शान्तिप्रक्रियाबाट बिथोल्न खोजेको आरोप लगाएका हुन् ।

सरकारले विप्लवलगायत शान्तिप्रक्रियामा आएका नेताहरुको पक्राउ पुर्जी तत्काल फिर्ता लिनुपर्ने उनको भनाइ छ । सांसद भट्टराईले सरकारको कानुनी हैसियत अविच्छिन्न रहने उल्लेख गर्दै विप्लव समूहलाई गर्ने भनिएको कारबाहीबाट वर्तमान सरकार पछि हट्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यदी सरकारले विप्लवलगायत शान्तिप्रक्रियामा आएका नेताहरुलाई पक्राउ गर्न आदेश दिएको हो भने प्रतिपक्ष दलका हैसियतले म सरकारलाई यो कामबाट तत्काल पछि हट्न र पक्राउ पुर्जी फिर्ता लिन सरकारलाई ध्यानाकर्षण गराउँछु ।’

हिंसाको बाटो रोजेको विप्लव र सिके राउतको पार्टीलाई शान्तिपथमा ल्याउन तत्कालीन केपी ओली नेतृत्वको सरकारले धेरै मिहेनत गरेको उल्लेख गर्दै सांसद भट्टराईले यसलाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने बताएका हुन् ।

टिप्पणीहरू