बाबुरामका अर्का दाहिने हातले साथ छोडे
‘ओरालो लागेको मृगलाई बाच्छोले पनि लखेट्छ’ भनेजस्तै जसपाबाट निकालिएका डा. बाबुराम भटराईले एकपछि अर्को निकट सहयोगीहरुको साथ गुमाइरहेका छन् । कुनैबेला राष्ट्रिय राजनीतिको निर्णायक भूमिकामा रहेका उनी आफ्नै कार्यशैलीका कारण सिपी मैनाली बन्दै गएको बताइन्छ ।
माओवादी जनयुध्दको पृष्ठभूमिबाट राजनीतिक उचाइ बनाएका र पछिल्लो समय ‘मार्क्सवाद’ त्यागेर ‘नयाँ गर्न’ हिँडेका डा. भट्टराईमाथि अस्थिर राजनीतिक चरित्रको आरोप लाग्ने गरेको छ । जसका कारण विगतमा अप्ठेरो अवस्थामा पनि साथ दिएका थुप्रै नेता अहिले उनीसंग छैनन् । तत्कालीन एकीकृत माओवादी छोडेर नयाँ शक्ति गठन गरेयता निरन्तर ओरालो यात्रामा रहेका भट्टराईलाई माओवादी पृष्ठभूमिका अधिकांश नेताहरुले पहिल्यै छोडिसकेका थिए ।
‘म पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग राजनीतिक रुपले सम्बन्धविच्छेद गरेको घोषणा गर्दछु । म उहाँ तथा मेरा अग्रज तथा समकक्षीहरुद्वारा मलाई नयाँ शक्ति पार्टी तथा जनता समाजवादी पार्टीका विभिन्न जिम्मेवारीपूर्ण पदहरुमा बस्दा दिइएको सहयोगका लागि धन्यवाद दिन चाहन्छु’
पछिल्लो समय जसपाबाट निक्लिएर नेपाल समाजवादी पार्टी गठन गरी नयाँ राजनीतिक यात्रा अघि बढाएका भट्टराईको निकटहरुले साथ छोड्ने क्रम अझै रोकिएको छैन । यसैबीच उनको दाहिने हात भनेर चिनिएका एमसिसीवाला प्रशान्त सिंहले पनि अब साथ नदिने घोषणा गरेका छन् । नयाँ शक्ति बनाएदेखि नै भट्टराईलाई दरिलो साथ दिंदै आएका सिंहले राजनीतिक सम्बन्ध बिच्छेद गरेका हुन् ।
उनले भट्टराईसँग आफूले राजनीतिक रुपमा सम्बन्धबिच्छेद गरेको बताए । ‘म पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग राजनीतिक रुपले सम्बन्धविच्छेद गरेको घोषणा गर्दछु । म उहाँ तथा मेरा अग्रज तथा समकक्षीहरुद्वारा मलाई नयाँ शक्ति पार्टी तथा जनता समाजवादी पार्टीका विभिन्न जिम्मेवारीपूर्ण पदहरुमा बस्दा दिइएको सहयोगका लागि धन्यवाद दिन चाहन्छु’, सिंहले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म डा.भट्टराईद्वारा निर्मित भइरहेको नयाँ पार्टी (सम्भवतः नेपाल समाजवादी पार्टी) मा नबस्ने निर्णयमा पुगेको छु।’
टिप्पणीहरू