मधेशका मुख्यमन्त्रीको पुत्ला जलाइने

मधेशका मुख्यमन्त्रीको पुत्ला जलाइने

चुरे संरक्षणको मागसहित निरन्तर आन्दोलन गर्दै आएका अभियन्ताहरुले जनकपुरधामस्थित मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन गर्ने भएका छन् । चुरे तथा वनजंगल संरक्षण अभियानले आज मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्रीको पुत्ला दहन गर्ने र कार्यालयमा ताला लगाउने घोषणा गरेको हो ।

चुरे संरक्षणका लागि भएका पटक-पटकका सहमति कार्यान्वयन नभएको भन्दै अभियानले आज तेस्रो चरणको आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जसअन्तर्गत आगामी भदौ १ गते मधेश प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ । त्यसलगत्तै उनीहरुले चार दिन सबै जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिनेछन् ।

त्यसको भोलिपल्ट अर्थात् भदौ ८ गते मधेशका आठै जिल्लाको सदरमुकाममा तीन तहको सरकारविरुद्ध प्रदर्शन तथा कोणसभा गर्ने जनाइएको छ । भदौ ९ गते मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि पुत्ला दहन र कार्यालयमा ताला लगाउने कार्यक्रम रहेको छ ।

चुरे तथा वनजंगलको संरक्षण र सुकुम्बासीको व्यवस्थापन गर्न माग गर्दै २६ दिनदेखि जनकपुरधाममा रिले अनसनमा बसेका अभियन्ताहरुले आफ्ना माग सुनुवाई नभएपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्न बाध्य भएको बताएका छन् ।

यसअघि पनि पटकपटक आन्दोलन गर्दै आएका उनीहरुले डिभिजन वन कार्यालय, सिरहाका प्रमुख सुभाष दासले गरेको अनियमितता र मारुती सिमेन्ट उद्योगले गरेको अतिक्रमणको छानबिनलगायत सात बुँदे माग राख्दै आएका छन् ।

टिप्पणीहरू