अबको निर्वाचनमा के गर्लान् खनाल र नेम्वाङले ?

अबको निर्वाचनमा के गर्लान् खनाल र नेम्वाङले ?

अघिल्लो हप्ता एमाले उपाध्यक्ष तथा इलाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ गृहजिल्ला आए । पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेर पाँचथर र ताप्लेजुङसम्म पुग्न भ्याए । फर्किनसक्दै प्रतिनिधि सभा क्षेत्र नं. १ का सदस्य झलनाथ खनाल गृहजिल्ला आएर जनप्रतिनिधिलाई बधाई दिए । अक्सर कम आउने यी दुई हेभीवेट नेताहरूको जिल्ला आगमनले चुनाव नजिकिएको झल्को दिएको छ । खनालले त पुनर्निर्वाचन लड्ने घोषणा नै गरेका छन् । यता नेम्वाङले पनि पाँचौँ पटक पनि जितलाई निरन्तरता दिने संकेत दिएका छन् । इलाममा प्रतिनिधिसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको छ । प्रदेश निर्वाचन क्षेत्र चार छ । दुई क्षेत्रमा खनाल र नेम्वाङजस्ता हेभीवेटले दोहो¥याउने भएपछि उनीहरू बाहेकका उम्मेदवारको चर्चा भने कम मात्र हुने गरेको छ । झलनाथ खनालको क्षेत्रमा एमालेबाट जिल्ला अध्यक्ष तथा इलाम नगरपालिकाका पूर्व मेयर महेश बस्नेत उठ्ने चर्चा छ ।

निर्वाचन क्षेत्र नं. १ मा सन्दकपुर, माइजोगमाई, रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, माई नगरपालिकाका ७ वटा वडा र इलाम नगरपालिकाको वडा नं. १० पर्छ । क्षेत्र नं. १ का सन्दकपुर, रोङ र सूर्योदयमा गठबन्धनले प्रमुख जितेको छ । अन्य नगर र पालिकामा एमालेले एक्लै जितेको छ । स्थानीय तह २०७९ को निर्वाचनमा पालिका प्रमुखहरूले ल्याएको मतलाई हेर्ने हो भने गठबन्धन र एमाले एक्लैले ल्याएको मतमा खासै अन्तर देखिन्न ।

स्थानीय निर्वाचनमा क्षेत्र नं. १ का पालिका प्रमुखहरूले गठबन्धनको तर्फबाट २६,२४७ मत ल्याएका छन् भने एमाले उम्मेदवारले २३,२९४ मत ल्याएका छन् । यता राजेन्द्र लिङ्देनको राप्रपाले १,४०३ मत ल्याएको छ । राप्रपा र एमालेले गठबन्धन गरेमा गठबन्धनको मत १,५५० मतले मात्र अघि हुन्छ । प्रमुखहरूले ल्याएको मतलाई हेर्ने हो भने पाँचदलीय गठबन्धनबाट खनाल उम्मेदवार बनेमा झिनो मतले अघि हुने देखिन्छ । सूर्योदय नगरपालिकामा गठबन्धनबाट एसले प्रमुख जिते पनि कार्यपालिका र जिल्ला समन्वयको निर्वाचनमा एमालेसँग सहकार्य गरेकाले कांग्रेसका स्थानीय कार्यकर्ता रुष्ट भएको बताइन्छ । कतिपय कार्यकर्ताले खुलेरै खनालको विपक्षमा सामाजिक सञ्जालमा आलोचना गरिरहेको पाइन्छ । ०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट लड्दै आएका खनाल २०५६ सालमा एक पटक हारेका थिए । त्यसपछि निरन्तर जित हासिल गरिरहेका छन् । माइजोमाई गाउँपालिकामा एसबाट अध्यक्षको उम्मेदवार बनेका जितबहादुर राई पराजित हुनुका साथै सूर्योदय नगरपालिका प्रमुखमा रणबहादुर राईको पनि अपेक्षित मत नआएपछि खनालले कांग्रेसले भोट नदिएको अभिव्यक्ति दिएका थिए ।

यता क्षेत्र नं. २ मा स्थानीय तह निर्वाचन २०७९ मा अध्यक्षका उम्मेदवारले पाएको मतलाई हेर्ने हो भने गठबन्धन र एमालेबीचको मतान्तर धेरै देखिन्न । गठबन्धनको तर्फबाट कांग्रेसका जिल्ला सभापति डम्बर खड्का र पूर्वसभापति केशव थापाको नाम चर्चामा छ । यसअघि प्रदेश निर्वाचनमा पराजित भएका खड्का नै उम्मेदवार बन्ने सम्भावना प्रवल छ ।

क्षेत्र नं. २ मा इलाम नगरपालिकाको एउटाबाहेक सबै वडा, माई नगरपालिकाको वडा नं. ६,७ र ८, देउमाई नगरपालिका, चुलाचुली, माङसेबुङ र फाकफोथुम गाउँपालिका पर्छ । क्षेत्र नं. २ का पालिकाहरूको प्रमुख÷अध्यक्षहरूले पाएको मतलाई हेर्ने हो भने झिनो मतले गठबन्धन अघि देखिन्छ । तर, निर्वाचन कहिल्यै नहारेका नेम्वाङ भने यस पटकको निर्वाचन पनि नहार्ने एमालेका जिल्ला उपसचिव रवीन्द्र सुवेदी बताउँछन् ।

क्षेत्र नं. २ मा पर्ने देउमाई नगरपालिका, माङसेबुङ, फाकफोकथुमको प्रमुख एमालेले जितेको छ । यसरी नै माइनगरपालिकाको ३ वडामध्ये दुई वडाध्यक्ष एमालेकै छ । इलाम नगरपालिका र चुलाचुली गाउँपालिकामा भने गठबन्धनले जितेको छ ।

क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट प्रमुखहरूले ल्याएको मत ४२,२६८ छ । यता एमालेका प्रमुखले ल्याएको मत ४०,३०९ रहेको छ । गठबन्धन र एमालेको मतमा १९५९ मत अन्तर छ । यता राप्रपाको मत ४२५ छ । त्यो मतसमेत एमालेमा जोड्दा पनि १,५३४ मतको अन्तर देखिन्छ । प्रमुखहरूले ल्याएको मतलाई हेर्दा गठबन्धनको मत अगाडि देखिएको छ । यसरी गठबन्धनलाई प्राप्त मत बाँडिएन भने नेम्वाङलाई पनि जित सहज देखिन्न । तर, किरात धर्मावलम्बीको धार्मिक स्थल लारुम्बाको मतलाई क्षेत्र नं. २ को निर्णायक मत मान्ने गरिएको छ । विगतका निर्वाचनमा उक्त मत नेम्वाङले प्राप्त गर्दै आएका थिए । स्थानीय तहको निर्वाचनमा भने माङसेबुङ गाउँपालिका कांग्रेसका उम्मेदवार डिकेन्द्र इधिङ्गोलाई ७५० मत भन्दा बढी लारुम्बाले दिएको थियो ।

टिप्पणीहरू