ठेकेदारको लापरबाहीले अलपत्र शहीदमार्ग
साउन २८ गते शनिबार रुकुम पूर्वको सुरक्षा निकायका दुई प्रमुखहरू चढेको भ्यान पुथा उत्तरगंगा गाउँपालिका ११, नपुग्दै दुर्घटनामा पर्यो । एक प्रहरी जवानको मृत्यु भयो भने दुई जना नायब उपरीक्षकसहित पाँच जना सुरक्षाकर्मी घाइते हुँदा हेलिकप्टरमार्फत उद्धार गरियो ।
उक्त शहीद मार्गको सोही स्थानमा तीन वर्ष पहिला मिनीट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । २०७५ मा सेरा गाउँ नपुग्दै पहिलो मोडमा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए । देश र जनताको लागि भन्दै प्राण आहुती दिएका शहीदहरूको सम्मानमा नामकरण गरिएको शहीद मार्ग ठेकेदार कम्पनीको कारण अलपत्र अवस्थामा छ । जसकारण बेला बेला सडक दुर्घटना हुने गरेको स्थानीयले बताएका छन् । पुथा उत्तरगंगा–१० का मैत्या घर्तीले साँघुरो सडकले बेला बेला दुर्घटना निम्त्याउने गरेको बताउनुभयो ।
भूमे गाउँपालिकाको काँक्रीदेखि पुथाउत्तरगंगा गाउँपालिकाको हुकामसम्म ५२ किलोमिटरमध्ये झण्डै १४ किलोमिटर खण्ड ग्राभेल हुन सकेको छैन । ट्रयाक खोलेर छोडिएको छ । एक खण्ड काँक्रीदेखि रिकाधुरीसम्मको काम सकिए पनि रिकाधुरीदेखि क्युवाङचौरसम्मको खण्ड ग्राभेल हुन बाँकी छ । बेला बेला जाने पहिरोको कारण यो स्थानमा यात्रुहरूले दुःख पाउने गरेका छन् । दुवै ठेक्का कोशी न्यौपाने जेभीले लिएको हो । उक्त ठेकेदार कम्पनी कालोसूचीमा परेपछि सप्तकोशी जलाधार निर्माण कम्पनीले उक्त कामको जिम्मा लिएको थियो । ०७६ मंसिरसम्म सबै काम सकिनुपर्ने सम्झौता थियो । दुई खण्डको गरी ४३ करोड बजेटमा सडक चौडा बनाउने र ग्राभेल गर्ने जिम्मा निर्माण कम्पनीले लिएको बताइन्छ ।
टिप्पणीहरू